बेनी हाईड्रोपावरको आईपीओ आजदेखि बन्द
मागभन्दा बढी आवेदन परेपछि निष्कासन प्रक्रिया रोकियो
वि.सं.२०८२ चैत १५ आइतवार ०७:५७
shares

काठमाडौं । बेनी हाईड्रोपावरले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको साधारण शेयर (आईपीओ) आजदेखि बन्द गरेको छ। कम्पनीले सोलुखुम्बु जिल्लाका स्थानीयका लागि खुला गरिएको १० लाख ४० हजार कित्ता शेयरमा अपेक्षाभन्दा उच्च आवेदन परेपछि निष्कासन प्रक्रिया समयअघि नै बन्द गरिएको जनाएको छ।
कम्पनीले जारी पूँजीको एक अंशस्वरूप कुल १०,४०,००० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याएको थियो। जसअन्तर्गत सोलुदुधकुण्ड नगरपालिका वडा नं. २, ३ र ४ का अति प्रभावित क्षेत्रका बासिन्दाका लागि ५२ प्रतिशत शेयर, वडा नं. ५, ६, ७ र ११ का प्रभावित क्षेत्रका लागि ३० प्रतिशत र बाँकी २० प्रतिशत शेयर सोलुखुम्बु जिल्लाका अन्य स्थानीय बासिन्दाका लागि छुट्याइएको थियो।
यो आईपीओ चैत १ गतेदेखि खुला गरिएको थियो भने आवेदन अपेक्षाभन्दा धेरै परेपछि चैत १५ गते बैंकिङ समयपछि आवेदन लिने कार्य औपचारिक रूपमा बन्द गरिएको कम्पनीले सूचनामार्फत जनाएको छ। संकलन केन्द्र तथा सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थालाई समेत सोही मितिबाट आवेदन संकलन बन्द गर्न निर्देशन दिइएको छ।
कम्पनीले प्रति शेयर १०० रुपैयाँ अंकित दरमा शेयर निष्काशन गरेको थियो। स्थानीय बासिन्दाबाट अत्यधिक आकर्षण देखिनुले जलविद्युत् क्षेत्रमा लगानीकर्ताको विश्वास अझै बलियो रहेको संकेत गरेको विश्लेषण गरिएको छ।
अब आवेदन बन्द भएसँगै आगामी चरणमा बाँडफाँड प्रक्रिया अघि बढ्नेछ। कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर छिट्टै नतिजा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।



















