एलन मस्कको स्पेस एक्सले विश्वकै ठूलो आईपीओ जारी गर्दै, नेपाली लगानीकर्ताले किन्न सक्छन् ?
वि.सं.२०८३ जेठ २४ आइतवार १४:४८
shares

काठमाडौं, २४ जेठ । अमेरिकी अर्बपति इलन मस्कद्वारा स्थापित अन्तरिक्ष प्रविधि कम्पनी स्पेस एक्सले इतिहासकै ठूलो सार्वजनिक शेयर निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेको छ। कम्पनीले आईपीओमार्फत करिब ७५ अर्ब अमेरिकी डलर बराबरको पुँजी संकलन गर्ने लक्ष्य राखेको छ । यो आईपीओ २ किसिमबाट निष्कासन हुन्छ ।
पहिलो हो– सेक्युरिटिज कम्पनीहरूमार्फत । त्यस्तै बुक बिल्डिङ विधिबाट पनि आईपीओ निष्कासन हुनेछ । ४ जुनदेखि रोडशो र ११ जुनदेखि बुक बिल्डिङ मार्फत प्रतिइकाइ १३५ अमेरिकी डलर मूल्य कायम गरी यो सेयर बिक्री गरिनेछ ।
कम्पनीको कुल मूल्याङ्कन १.५ देखि १.८ ट्रिलियन (१५ देखि १८ खर्ब) डलर हाराहारी पुग्न सक्ने अनुमान गरिएको छ । स्टारलिंकमार्फत करोडौं ग्राहकलाई स्याटेलाइट इन्टरनेट सेवा र स्टारसिप रकेट कार्यक्रम तथा भविष्यका चन्द्रमा र मंगल अभियानजस्ता कारण यो मूल्यवान कम्पनी बनेको छ । आंशिक रूपमा पुनः प्रयोग गर्न मिल्ने रकेट बनाएर स्पेस एक्सले अन्तरीक्ष दौडलाई नयाँ परिभाषा दिलाएको छ । कम्पनीको स्याटेलाइट इन्टरनेट सेवा स्टारलिङ्कसँग आबद्ध गरिएको छ ।
के नेपाली लगानीकर्ताले किन्न सक्छन् ?
आईपीओ सार्वजनिक भएपछि वा अमेरिकी शेयर बजारमा सूचीकृत भएपछि अन्तर्राष्ट्रिय ब्रोकरेजमार्फत विदेशी लगानीकर्ताले कम्पनीको शेयर खरिद गर्न सक्नेछन्। तर हालको नेपाली कानुनी व्यवस्थाअनुसार नेपालबाट प्रत्यक्ष रूपमा विदेशी शेयर बजारमा लगानी गर्न अनुमति छैन।
यस कारण नेपालमै रहेका नेपाली नागरिकले स्पेस एक्सको आईपीओमा प्रत्यक्ष लगानी गर्न सक्ने अवस्था छैन। यद्यपि विदेशमा बसोबास गर्ने नेपालीहरूले सम्बन्धित देशको कानुन तथा नियमअनुसार लगानी गर्न भने सक्नेछन्।
















