खुट्टाको घाउ निको नगरी नयाँ जुत्ता किन्ने खालको बजेट आयो : हर्क साम्पाङ
वि.सं.२०८३ जेठ २८ बिहीवार १४:४९
shares

काठमाडौं, २८ जेठ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले बजेट मुलुकको समस्या समाधान गर्नेतर्फ केन्द्रित नभएको दाबी गरेका छन् । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै उनले असन्तुष्टि व्यक्त गरेका हुन् ।
साम्पाङले मुलुकको समस्यालाई खुट्टाको घाउँसँग तुलना गर्दै सरकारले ल्याएको बजेटले खुट्टाको घाउ निको बनाउने भन्दा पनि नयाँ जुत्ता किन्ने खालको आएको भन्दै कटाक्ष गरे । उनले पेट्रोलियम पदार्थको मूल्य नेपालमा विश्वकै महँगो हुँदा पनि त्यसलाई घटाउने कुरा बजेटमा उल्लेख नगरेकोमा आक्रोश व्यक्त गरे ।
उनले भने ‘पेट्रोलियम पदार्थको मूल्य विश्वमा नै नेपालमा महँगो । त्यसरी डे टु डे चाहिने उपभोग्य सेवा सुविधा र सामग्रीको मोल त्यसरी अचाक्ली बढाएर हामीले राम्रो बजेट बनाईराखेका छैनौ भन्ने लाग्छ । त्यसोभएको हुनाले हामीले त्यतातिर ध्यान दिनु पर्दछ भन्ने लाग्दछ । बजेट भन्ने बित्तिकै हामीले समस्या हाम्रो के हो, विकास हाम्रो के मा हो भन्ने बुझ्न जरुरी छ जस्तो मलाई लाग्दछ । समस्या भनेको खुट्टामा भएको घाउ । विकास भनेको खुट्टामा लगाउने नयाँ जुत्ता । हाम्रो बजेट समस्या समाधान गर्नतिर केन्द्रित हुनुपर्छ कि ? नयाँ जुत्ता किन्नेतिर ? खुट्टाको घाउ उपचार गर्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ कि नयाँ जुत्ता किन्नेतिर हाम्रो बजेट केन्द्रित हुनुपर्छ ? यो एउटा महत्त्वपूर्ण प्रश्न हामी सबैतिर उभिन्छ जस्तो लाग्दछ ।
वक्तव्यको क्रममा सय वटा घर बनाएर हामी सर्वसाधारणलाई विक्री गर्नेछौ भनेर भन्ने खालको अर्थमन्त्रीको वक्तव्यमा कुराहरू आउँदाखेरि त्यो आपत्तिजनक छ । सरकार भनेको वास्तवमा के हो भने शान्ति सुव्यवस्था कायम गर्ने, सेवा सुविधा प्रदान गर्ने एउटा निकाय मात्रै हो । हामी जग्गा व्यापारी रियल स्टेट व्यापारी गर्ने हामी मान्छे होइनौँ । त्यो निकाय होइन । यो कुरा हामीले हेक्का राख्नुपर्दछ ।’
अध्यक्ष राईले सरकारले आवास बनाएर जनतालाई हस्तान्तरण गर्ने कुरा आपत्तिजनक रहेको बताए । सरकार व्यापारी नभई जनतालाई सेवा सुविधा दिने निकाय भएकाले त्यस्तो काम बजेटमार्फत आउन आपत्तिजनक रहेको उनको तर्क थियो ।















