Dhulikhel Eco Banner new

सानिगाड हाइड्रोको आईपीओ सोमवार बाँडफाँट हुने

611
shares

काठमाडौं, ३१ जेठ । सानिगाड हाइड्रो लिमिटेडले अन्तिम चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओ असार १ गते (सोमवार) बाँडफाँट गर्ने भएको छ । विक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले सोमवार बिहान १० बजे आफ्नै कार्यालय नयाँ बानेश्वर, काठमाडौंमा आईपीओ बाँडफाँट गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणका लागि जेठ १८ गतेदेखि २१ गतेसम्म ४६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट कम्पनीको आईपीओ बाँडफाँट गरिनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको आधारमा ३० प्रतिशत आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो । सर्वसाधारणमा जारी हुने कुल कित्ता आईपीओमध्ये कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा २८ लाख ५० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीमा ५ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत ८ गतेदेखि ११ गतेसम्म र स्थानीयमा चैत ८ गतेदेखि २५ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । वैदेशिक रोजगारीमा रहेका नेपालीमा चैत २२ गते र स्थानीयमा वैशाख २४ गते आईपीओ बाँडफाँट गरेको हो ।

यीबाहेक पनि कम्पनीले १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरूका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरूलाई पनि बाँडफाँट गरि बाँकी आईपीओ भने सर्वसाधारणमा बाँडफाँट हुन लागेको हो ।

यस कम्पनीले बझाङ जिल्लामा ३८ दशमलव ४६ मेगावाट क्षमताको कालंगागाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७९ फागुन ६ गतेदेखि व्यापारिक उत्पादन गर्दै आएको छ ।

यस आयोजना निर्माणको कुल लागत भने ८ अर्ब ६८ करोड रुपैयाँभन्दा बढी छ । २०७२ चैत १४ गते आयोजना निर्माण उत्पादन तथा सञ्चालन अनुमति प्राप्त गरेको कम्पनीको अनुमति २१०७ चैत १३ गतेसम्म बहाल रहनेछ ।