Dhulikhel Eco Banner new

समाजसेवी सुदामा कार्की अब राजनीतिमा, रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

2.11K
shares

सौराहा, ७ जेठ । समाजसेवी तथा पर्यटन व्यवसायी सुदामा कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन् । लामो समयदेखि पर्यटन व्यवसाय र समाजसेवामा सक्रिय कार्की अब केन्द्रीय राजनीतिमा प्रवेश गर्न लागेका हुन् ।

चितवनमा जारी रास्वपाको महाधिवेशनमा उनले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने तयारी गरेका छन् । रास्वपाको केन्द्रीय महाधिवेशन आइतबार चितवनमा उद्घाटन हुँदैछ । उद्घाटन सत्र सम्पन्न भएपछि बन्द सत्र सञ्चालन हुने र त्यसपछि निर्वाचन प्रक्रिया अघि बढ्ने कार्यक्रम छ ।

केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारीबारे कार्कीले केटिएम भ्वाइसलाई जानकारी दिएका हुन् ।

को हुन् सुदामा कार्की ?

चितवनको भरतपुरमा वि.सं. २०३१ साल साउन १५ गते जन्मिएका सुदामा कार्की पर्यटन व्यवसायी, समाजसेवी तथा शिक्षाप्रेमी व्यक्तित्व हुन् । वाणिज्यशास्त्रमा स्नातकोत्तर गरेका तथा बौद्ध दर्शनका विद्यार्थी कार्कीले जर्मन भाषाको प्रशिक्षकका रूपमा समेत काम गरेका छन् । उनले विश्वका ७० भन्दा बढी देशको भ्रमण गरी अन्तर्राष्ट्रिय अनुभव बटुलेका छन् ।

पर्यटन व्यवसायमार्फत ठूलो संख्यामा रोजगारी सिर्जना गरेका कार्की लायन्स डिस्ट्रिक्ट ३२५ एचका भाइस गभर्नरसमेत हुन् । व्यवसायसँगै उनी विगत २५ वर्षदेखि गरिब, असहाय तथा अनाथ बालबालिकाको शिक्षा, संरक्षण र उज्ज्वल भविष्य निर्माणमा सक्रिय छन् ।

उनले गोरखाको आरुघाटमा अनाथालय स्थापना गरी बालबालिकाको अभिभावकत्व ग्रहण गरेका थिए । हाल काठमाडौंको गोकर्णेश्वर–नयाँपाटीस्थित विद्यालयमा २०० भन्दा बढी विद्यार्थीलाई कक्षा १० सम्म निःशुल्क शिक्षा प्रदान गरिएको छ भने आवाससहित कक्षा १२ सम्म अध्ययन गराउने कार्यक्रमबाट विभिन्न जिल्लाका बालबालिका लाभान्वित भइरहेका छन् । फाउन्डेसनमार्फत ३५० भन्दा बढी बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराइँदै आएको छ ।

२०७२ सालको भूकम्पपछि दोलखा र नुवाकोटमा विद्यालय तथा सामुदायिक संरचना निर्माणमा योगदान दिएका कार्कीले गोरखाको स्वारागाउँमा ३० जना क्षमताको छात्रावास निर्माण गरी स्थानीय विद्यालयलाई हस्तान्तरण गरेका छन् ।

लायन्स क्लबमा सन् २०१३ देखि सक्रिय कार्की जोन चेयरपर्सन, रिजन चेयरपर्सन, एरिया कोअर्डिनेटर, डिस्ट्रिक्ट ट्रेजरर तथा द्वितीय भाइस गभर्नरको जिम्मेवारी सम्हालिसकेका छन् । हाल उनी प्रथम भाइस गभर्नर पदका उम्मेदवार छन् । समाजसेवा, शिक्षा र बालकल्याणमा पुर्‍याएको योगदानका कारण सुदामा कार्कीलाई सेवा र नेतृत्वको सफल संयोजनका रूपमा चिनिन्छ ।