Dhulikhel Eco Banner new

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

793
shares

काठमाडौं, ३१ भदौ । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।

इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न गइरहेको पिंकवाक आगामी असोज १७ गते शनिवार (अक्टोबर ३, २०२६), बिहान ६ बजे शुरु हुनेछ। यस अन्तर्गत सहभागीहरूले बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्ने छन् ।

पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ। स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकले बताए। साथै, क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिनेछ।

इन्फिनिट केयर्सका तर्फबाट दिजुप तुलाधर इकाई प्रमुखले पिंकवाकलाई केवल पदयात्रामा सीमित नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए।

“पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो। स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो। सबैलाई पिंकवाक २०२६ मा सहभागी भई यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गर्दछौं” दिजुप तुलाधरले भने।

पिंकवाक २०२६ क्यान्सर केयर नेपाल, नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस्, WOW (World of Women),  साझेदारीमा आयोजना हुँदैछ भने नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाडौँ महानगरपालिका तथा ललितपुर महानगरपालिकाको सहयोग रहेको छ।

पिंकवाकको पहिलो संस्करण २०८० असोजमा सम्पन्न भएको थियो । यस अभियानको दोस्रो संस्करणले पनि स्तन क्यान्सरसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।

‘ इन्फिनिट केयर्स इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रा.लि.को सामाजिक उत्तरदायित्व  सामुदायिक पहलहरूमध्येको अन्तर्गत गरिने एक कार्यक्रम हो । इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रा.लि. बहुराष्ट‍्रिय आईटी सेवा तथा डिजिटल इन्जिनियरिङ क्षेत्रमा कार्यरत कम्पनी इन्फिनिट कम्प्युटर सोलुसन्सको नेपालस्थित सफ्टवेयर विकास तथा आईटी सेवा केन्द्र हो, जहाँ ६०० भन्दा बढी जनशक्ति कार्यरत छन्। नेपालमा इन्फिनिटले व्यवसाय र प्रविधिसँगै विभिन्न सामाजिक उत्तरदायित्व  तथा सामुदायिक पहलहरूमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ। पिंकवाक पनि स्वस्थ, समावेशी र दिगो समाज निर्माणमा योगदान पुऱ्याउने यस्तै सामाजिक पहलको एक अभियान हो ‘ उनले भने ।