Dhulikhel Eco Banner new

बाढीले सबै बगायो, तर बगेन बैंकको ऋण

559
shares

काठमाडौं, ५ असोज । भदौ १० गते भोटेकोशीमा आएको बाढीले नदी किनारका बस्ती मात्र बगाएन, उक्त क्षेत्रका हजारौँ मानिस बगे, बर्षाको पसिनासँगै अर्बौ क्षति भयो । भोटेकोशी–त्रिशुली नदी करिडोर यतिबेला खण्डहर छ । बाढीअघि बस्ती रहेको क्षेत्र अहिले नदी पसेको छ । बाढीले रसुवा र नुवाकोट जिल्लाका धेरै बस्ती खण्डहरमा परिणत भएका छन् । बाँचेकाहरूसँग यति बेला लगाएका कपडाबाहेक केही छैनन् ।

बाढीले त्यहाँको बस्ती मात्र बगाएको छैन, बासिन्दाको जिन्दगी पनि भग्नावशेष बनेको छ । बाढीबाट जोगिएकाहरूको सबथोक बग्यो, तर बैंकमा उनीहरूको नाममा रहेको ऋण भने बगाउन सकेन । यतिबेला बेत्रावती र भोटेकोशी आसपासका बाढीपीडितहरू एकछाक टार्न पनि राज्यसँग गुहार माग्नुपर्ने अवस्थामा छन् । कोही आफन्तकामा सहारामा पुगेका छन् त कोही आश्रस्थल खोजेर बसेका छन् ।

जग्गा धितो राखेर बनाइएको घरको नामोनिसान छैन । जहाँ घर थियो, त्यहाँ अहिले नदी छ । सबै गुमाएका उनीहरू अब बैंकको ऋणको कसरी तिर्ने भन्ने चिन्तामा छन् । पीडितहरूको हात रित्तो छ, त्यसमाथि ऋणको भारीले थिचिरहेको छ । यस्तो बेलामा राज्यले आफूहरूमाथि कस्तो निर्णय लिन्छ, त्यसको पर्खाइमा छन् उनीहरू ।