राष्ट्र बैंकको नयाँ नियम : शेयर बजारमा बैंकहरूले ४५ दिन होल्ड गर्नुपर्ने, अल्पकालीन कारोबारमा रोक
वि.सं.२०८३ असोज ९ शुक्रवार १०:४५
533
shares
shares

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूको लगानीसम्बन्धी नीतिमा कडाइ गर्दै शेयर बजारमा अल्पकालीन कारोबार (ट्रेडिङ) गर्न अंकुश लगाएको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन, २०८२ मा संशोधन गर्दै ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकहरूले धितोपत्र बजारमा सूचीकृत कम्पनीको शेयर तथा डिबेन्चर खरिद गर्दा कम्तीमा ४५ दिनसम्म होल्ड गर्नुपर्ने बाध्यकारी व्यवस्था लागू गरेको हो। यसबाहेक अन्य कुनै पनि घुमाउरो बाटो वा प्रबन्धबाट शेयर बजारमा अल्पकालीन लगानी गर्न नपाइने केन्द्रीय बैंकले स्पष्ट पारेको छ।
नयाँ व्यवस्थाअनुसार अब बैंक तथा वित्तीय संस्थाहरूले जथाभावी लगानी गर्न पाउने छैनन्। उनीहरूले आफ्नो सञ्चालक समितिबाट लगानीको स्पष्ट उद्देश्य, रणनीति र कार्यविधि पारित गरेर मात्र सरकारी सुरक्षणपत्र वा शेयरमा लगानी गर्नुपर्नेछ। बैंकहरूले आफ्नो सम्पूर्ण लगानीलाई ‘बैंकिङ बुक’ र ‘ट्रेडिङ बुक’ मा वर्गीकरण गरी दैनिक रूपमा बजार तथा तरलता जोखिमको मापन गर्नुपर्नेछ। यसका लागि ‘टेक प्रोफिट’ (नाफा सुरक्षित गर्ने) र ‘स्टप लस’ (घाटा रोक्ने) जस्ता जोखिम व्यवस्थापनका सूचकहरू अनिवार्य रूपमा तय गर्नुपर्ने निर्देशनमा उल्लेख छ।
लगानीसम्बन्धी निर्णय गर्दा बैंकका सहायक कम्पनी, ठूला शेयरधनी र व्यवस्थापनका अधिकारीबीच स्वार्थ नबाझिने (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) गरी पारदर्शी संयन्त्र बनाउन राष्ट्र बैंकले सचेत गराएको छ। त्यस्तै, वाणिज्य बैंकहरूले राख्नुपर्ने ‘काउन्टरसाइक्लिकल बफर’लाई भने आर्थिक वर्ष २०८३/८४ का लागि शून्य प्रतिशत नै कायम गरिएको छ। संशोधित नीति लागू भएसँगै अब सबै वित्तीय संस्थाहरूले आफ्नो बैंकिङ र ट्रेडिङ बुकमा रहेको लगानीको विस्तृत विवरण राष्ट्र बैंकलाई हरेक महिना अनिवार्य बुझाउनुपर्नेछ।

















