सानिमा क्यापिटलका फण्डमा बजारको असर: पुरानो योजना घाटामा, नयाँको पैसा बैंकमै
वि.सं.२०८३ असोज २७ मंगलवार ०९:५१
351
shares
shares

सानिमा क्यापिटल लिमिटेडद्वारा सञ्चालित दुईवटा म्युचुअल फण्डको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरण सार्वजनिक भएको छ। प्रकाशित तथ्यांकअनुसार शेयर बजारमा आएको निरन्तरको गिरावटले सञ्चालनमा रहेको पुरानो योजनाको प्रतिफल खुम्चिएको छ भने भर्खरै मात्र बजारमा आएको नयाँ योजनाले ‘पर्ख र हेर’ को रणनीति अपनाउँदै आफ्नो पुँजी सुरक्षित राखेको देखिन्छ।
गत आर्थिक वर्षमा १२ करोडभन्दा बढी खुद नाफा कमाएर लगानीकर्तालाई आकर्षक प्रतिफल दिएको ‘सानिमा ग्रोथ फण्ड’ समीक्षा वर्षमा भने करिब १८ लाख २९ हजार रुपैयाँ नोक्सानीमा गएको छ। शेयर बजार ओरालो लाग्दा फण्डको पोर्टफोलियोमा ७ करोड ३९ लाख रुपैयाँ बराबरको ‘प्राप्त भइनसकेको घाटा’ (अनरियलाइज्ड लस) देखिएपछि फण्ड नोक्सानीमा गएको हो। अघिल्लो वर्षको मुनाफाबाट १० करोड ६१ लाख रुपैयाँ लाभांश वितरण गरेको यस फण्डको कुल सम्पत्ति र जगेडा कोषको आकार पनि शेयर बजारकै कारण यसपटक घटेको छ।
अर्कोतर्फ, असारको पहिलो साता मात्रै बाँडफाँड भएको नयाँ बन्दमुखी योजना ‘सानिमा इक्वीटी फण्ड-२’ ले भने तत्काल शेयर बजारमा ठूलो लगानी बढाएको छैन। १ अर्ब २५ करोड रुपैयाँ इकाई पुँजी रहेको यस योजनाले १ अर्ब ८ करोडभन्दा बढी रकम बैंक मौज्दातमै राखेको छ। धितोपत्रमा जम्मा १६ करोड १९ लाख रुपैयाँ मात्र लगानी गरेको यस फण्डले प्रारम्भिक तथा व्यवस्थापन खर्चका कारण करिब ५९ लाख ३१ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ। यद्यपि, फण्डसँग पर्याप्त नगद तरलता रहेकाले आगामी दिनमा बजार घट्दा सस्तो मूल्यमा राम्रा शेयरहरू खरिद गर्ने सहज अवस्थामा भने यो योजना रहेको छ।


















