दुर्गन्धित शौचालयदेखि पार्किङ समस्यासम्म, भरतपुर विमानस्थललाई सुधार्न निर्देशन
वि.सं.२०८३ असोज २९ बिहीवार १०:१३
shares

काठमाडौं, २९ असोज। भरतपुर विमानस्थलको सरसफाइ र व्यवस्थापन अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले तत्काल सुधार गर्न निर्देशन दिएको छ।
विमानस्थलका शौचालय दुर्गन्धित हुने, नियमित सरसफाइ नहुने र परिसर व्यवस्थित तथा आकर्षक नरहेको गुनासोपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालसहितको टोलीले अनुगमन गरेको हो।
अनुगमनका क्रममा सरसफाइ, पूर्वाधार र व्यवस्थापनमा कमजोरी देखिएपछि विमानस्थलका प्रमुख दीपक विकलाई सुधार गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताएका छन्। विमानस्थल प्रमुख विकले कमजोरी सुधार गर्ने प्रतिबद्धता जनाएका छन्।
विमानस्थलमा पार्किङ व्यवस्थापनको समस्या पनि पटकपटक उठ्दै आएको छ। यहाँबाट बुद्ध एयरले काठमाडौंका लागि दैनिक सातवटा उडान गर्दै आएको छ भने करिब ८०० यात्रु आवतजावत गर्ने गरेका छन्।
यात्रुको चाप रहने विमानस्थलमा सफा शौचालय, व्यवस्थित पार्किङ र प्रभावकारी सेवा सुनिश्चित गर्न प्रशासनले चासो देखाएको हो।


















