Dhulikhel Eco Banner new

वाणिज्य बैंकको सेयरमा आकर्षण, कुमारी बैंकमा सर्वाधिक कारोबार

650
shares

काठमाडौं, २९ असोज ।  अहिले सेयर बजारमा कुन समूहको चर्चा छ?

यसको सहज उत्तर हो— वाणिज्य बैंक।

पछिल्ला दिनमा वाणिज्य बैंक समूहको सेयर मूल्य लगातार बढिरहेको छ। बुधबारसम्म यो समूह सात कारोबार दिन लगातार बढेको छ। सात दिनमा समूहको सूचक करिब ८२ अंक बढेर बुधबार १,५६५ विन्दुमा पुगेको छ। अहिले यो समूहका लागि १,५७० विन्दु आसपास प्रतिरोधको स्तर देखिएको छ। यो स्तरमा पुगेपछि समूहको सूचकले कस्तो प्रतिक्रिया देखाउँछ भन्ने आगामी कारोबारले बताउनेछ।

यसबीच नौ वाणिज्य बैंकले घोषणा गरेको लाभांश पाउने अवधि सकिइसकेको छ। तैपनि यो समूहमा सुधार जारी छ। वाणिज्य बैंक समूह किन बढिरहेको छ भन्नेबारे हामीले यसअघि पनि जानकारी दिइसकेका छौं। समूहको सूचक लगातार बढिरहेका बेला यसभित्र कुन बैंकको सेयरमा बढी कारोबार भइरहेको छ त?

यसका लागि हामीले बुधबारको कारोबारलाई आधार मानेका छौं। यस दिन सेयर मूल्य सबैभन्दा धेरै बढ्नेमा अन्य बैंक रहे पनि रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुनेमा कुमारी बैंक र लक्ष्मी सनराइज बैंक परेका छन्।

कुमारी बैंक

बुधबार बजारमा सबैभन्दा धेरै रकमको कारोबार कुमारी बैंकको सेयरमा भएको छ।

बैंकको २६ करोड ४६ लाख रूपैयाँ बराबरको सेयर किनबेच भएको छ। यस दिन बैंकको सेयर मूल्य १.८१ प्रतिशत बढेर २४१ रूपैयाँ ६० पैसा पुगेको छ।

कुमारी बैंकले यस वर्षका लागि प्रस्ताव गरेको २.१० प्रतिशत नगद लाभांश असोज २८ गतेको साधारणसभाबाट पारित गरिसकेको छ।

बैंकले आर्थिक वर्ष २०७८/७९ पछि पहिलो पटक यो लाभांश दिएको हो।

अहिले बैंकको सेयर मूल्य पनि एक वर्षयताकै उच्च मूल्य अर्थात् २५६ रूपैयाँको नजिक पुगेको छ।

राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार कुमारी बैंकले भदौ २०८३ सम्ममा एक अर्ब एक करोड रूपैयाँ नाफा कमाएको छ। यो अवधिमा एक अर्ब रूपैयाँभन्दा बढी नाफा कमाउने आठ बैंकमध्ये कुमारी पनि एक हो।

गत वर्षको यही अवधिमा कुमारीले एक अर्ब पाँच करोड रूपैयाँ नाफा कमाएको थियो। बैंकले प्रकाशन गरेको विवरण अनुसार गत आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा पनि यसको नाफा यही स्तरमा देखिएको थियो।

त्यसैले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा पनि कुमारीको नाफा एक अर्ब एक करोड रूपैयाँकै हाराहारीमा रहने अनुमानमा लगानीकर्ता आकर्षित भएको हुन सक्छन्।

कुमारीले कर्जा नियमित नभएपछि आफ्नो स्वामित्वमा लिएको धितो अर्थात् गैरबैंकिङ सम्पत्ति पनि पछिल्लो एक वर्षमा केही घटाएको छ।

यस्तो सम्पत्ति यसअघि दुई अर्ब ५२ करोड रूपैयाँ रहेकामा अहिले घटेर दुई अर्ब २४ करोड रूपैयाँ भएको छ।

तर, लाभांश पाइसकेको अवस्थामा कुमारीको सेयरमा बिक्री चाप बढेको त छैन भन्ने प्रश्न पनि उठ्न सक्छ।

एक्युमुलेसन एन्ड डिस्ट्रिब्युसन (एडी) सूचक हेर्दा पछिल्लो २० दिनमा बैंकको सेयरमा २२ लाख कित्ता बराबरको डिस्ट्रिब्युसन अर्थात् बिक्री भएको छ।

त्यस्तै ३५ लाख कित्ता बराबरको एक्युमुलेसन अर्थात् सञ्चय भएको छ। अहिले पनि एडी सूचक १३ लाखले सकारात्मक छ।

बैंकिङ समूह लगातार सात कारोबार दिन बढेको अवधिमा कुमारी बैंकको सेयरमा पाँच लाख ८० हजार कित्ता डिस्ट्रिब्युसन हुँदा १७ लाख कित्ता एक्युमुलेसनभएको छ।

लक्ष्मी सनराइज बैंक

बुधबार रकमका आधारमा सबैभन्दा धेरै कारोबार हुने बैंकमध्ये लक्ष्मी सनराइज तेस्रो स्थानमा छ।

लक्ष्मीको १२ करोड ८२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन बैंकको सेयर मूल्य पनि १.९८ प्रतिशत बढेर २७३ रूपैयाँ पुगेको छ। यो मूल्य बैंकको सेयरको एक वर्षयताकै उच्च हो।

यो बैंकले गत आर्थिक वर्ष २०८२/८३ का लागि अहिलेसम्म लाभांश घोषणा गरेको छैन।

आर्थिक वर्ष २०८१/८२ मा भने लक्ष्मीले १० प्रतिशत बोनस सेयरसहित कुल १०.५३ प्रतिशत लाभांश दिएको थियो।

लक्ष्मीको आर्थिक वर्ष २०८२/८३ को नाफाका आधारमा लाभांश दिन सक्ने क्षमता ६.७९ प्रतिशत मात्रै देखिएको छ। तर, आर्थिक वर्ष २०८२/८३ का कुनै पनि त्रैमासमा यसको पुँजीकोष अनुपात राष्ट्र बैंकले तोकेको न्यूनतम ८.५ प्रतिशतभन्दा तल छैन।

त्यसैले पुँजीकोष अनुपातकै कारण लाभांश दिन बाधा पर्ने देखिँदैन।

लाभांश दिन सक्ने क्षमता कम हुँदाहुँदै पनि लक्ष्मीको सेयरमा आकर्षण बढ्नुको अर्को कारण हुन सक्छ।

त्यो हो— ऋणपत्र परिपक्व हुने समय नजिकिनु।

लक्ष्मीले जारी गरेको तीन अर्ब रूपैयाँ बराबरको ‘सनराइज ऋणपत्र २०८३’ यही मंसिरमा परिपक्व हुँदै छ।

यस्तो ऋणपत्रको भुक्तानीमा समस्या नहोस् भनेर बैंकहरूले हरेक वर्ष जगेडामा रकम राख्दै जान्छन्। ऋणपत्र परिपक्व हुने समयसम्ममा भुक्तानी गर्नुपर्ने रकम बराबरको स्रोत जम्मा भइसकेको हुन्छ।

यस्तो रकमबाट लाभांश वितरण गर्न पनि सकिन्छ। पछिल्लो समय ऋणपत्र परिपक्व हुन लागेका बैंकहरूको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ।

राष्ट्र बैंकको तथ्यांक अनुसार लक्ष्मी सनराइज बैंकले भदौ २०८३ सम्ममा ८९ करोड रूपैयाँ नाफा कमाएको छ।

गत वर्ष यही अवधिमा ९७ करोड रूपैयाँ नाफा कमाएको थियो।