करदाता उपहार कार्यक्रम : बिल इन्ट्रीको म्याद असोज ३१ सम्म, नतिजा कात्तिक १ मा
वि.सं.२०८३ असोज २९ बिहीवार १०:४१
shares

काठमाडौं, २९ असोज। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन असोज ३१ गतेभित्र खरिद बिलको विवरण प्रविष्ट गर्न उपभोक्तालाई आग्रह गरेको छ।
विभागका अनुसार असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरेर वस्तु तथा सेवा खरिद गरेका उपभोक्ताले बिलको विवरण अनलाइन प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न सक्नेछन्। उक्त अवधिका कुपन कात्तिक १ गते खोलिने र विजेताको घोषणा गरिनेछ।
कार्यक्रममा सहभागी हुन उपभोक्ताले विभागको आधिकारिक वेबसाइट (https://prize.ird.gov.np/) मा गएर खरिद बिलको विवरण भर्नुपर्नेछ।
यस कार्यक्रमअन्तर्गत हरेक दिन एक जनालाई एक लाख रुपैयाँ र प्रत्येक १५ दिनमा एक जनालाई १० लाख रुपैयाँको बम्पर उपहार दिने व्यवस्था छ। पुरस्कारमा लाग्ने कर तथा अन्य सर्त भने कार्यक्रमको कार्यविधिअनुसार लागू हुनेछन्।
विभागले उपहार कार्यक्रममा सहभागी हुन र पुरस्कार दाबी गर्न सकिने गरी खरिद बिल सुरक्षित राख्न आग्रह गरेको छ। साथै, सामान तथा सेवा बिक्री गर्दा व्यवसायीले अनिवार्य रूपमा बिक्री बिल वा बीजक जारी गर्नुपर्ने जनाएको छ।
बिल लिने र दिने बानीलाई प्रोत्साहन गर्नुका साथै कर प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको विभागले जनाएको छ।


















