Dhulikhel Eco Banner new

जनकपुरमा जुट्दैछन् विश्वभरका स्वास्थ्य विज्ञ, नेपालको स्वास्थ्य सेवा सुधारमा छलफल हुने

585
shares

काठमाडौं, २९ असोज। नेपालसहित विश्वका विभिन्न देशमा कार्यरत स्वास्थ्य विज्ञ, चिकित्सक तथा वैज्ञानिकहरू सहभागी हुने छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स आगामी मंसिर १८ र १९ गते  (डिसेम्बर ४ र ५ ) जनकपुरधाममा आयोजना हुने भएको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने सम्मेलनमा विदेशमा रहेका नेपाली स्वास्थ्यकर्मीको ज्ञान, सीप र अनुभवलाई नेपालको स्वास्थ्य प्रणालीसँग जोड्ने विषयमा छलफल गरिनेछ। आयोजकका अनुसार सम्मेलनमा करिब ३०० जनाको सहभागिता रहने अपेक्षा गरिएको छ। ५० भन्दा बढी अन्तर्राष्ट्रिय विज्ञ तथा वैज्ञानिक सहभागी हुने पनि आयोजकले जनाएको छ।

सम्मेलनको मुख्य नारा ‘रिभर्स माइग्रेसन विथ ग्लोबल कोल्याबरेसन’ अर्थात् विश्वव्यापी सहकार्यबाट दक्ष जनशक्तिलाई नेपालको स्वास्थ्य क्षेत्रमा जोड्नु रहेको छ।

सम्मेलनमा चिकित्सा शिक्षा, विशेषज्ञ तालिम, स्वास्थ्य अनुसन्धान, डिजिटल स्वास्थ्य सेवा, टेलिमेडिसिन र अस्पताल तथा विश्वविद्यालयबीच सहकार्य विस्तार गर्ने विषयलाई प्राथमिकता दिइनेछ। विदेशमा कार्यरत नेपाली स्वास्थ्य विज्ञलाई स्वदेशमै आफ्नो ज्ञान र सीप उपयोग गर्ने अवसर सिर्जना गर्ने विषयमा पनि छलफल हुनेछ।

विशेषगरी स्वास्थ्य सेवामा पछाडि परेको मधेश प्रदेशमा उपचारको पहुँच बढाउने, दक्ष स्वास्थ्यकर्मीको अभाव कम गर्ने र अन्तर्राष्ट्रिय सहयोगमार्फत स्वास्थ्य सेवा सुधार गर्ने विषय सम्मेलनका मुख्य एजेन्डा रहनेछन्।

आयोजकका अनुसार सम्मेलनलाई दुई दिनको छलफलमा मात्र सीमित नराखी दीर्घकालीन सहकार्य, विशेषज्ञ आदानप्रदान, अनुसन्धान र स्वास्थ्य क्षेत्रमा लगानीका अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ।

जनकपुरधाममा पहिलोपटक आयोजना हुन लागेको यस सम्मेलनले नेपालको स्वास्थ्य क्षेत्रलाई अन्तर्राष्ट्रिय ज्ञान, प्रविधि र अनुभवसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।