Dhulikhel Eco Banner new

भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित

572
shares

काठमाडौं, ३० असोज। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा नुवाकोटका सभापति हरि श्रेष्ठले बाढीबाट भएको क्षति सामान्य विपत्ति नभई महाविपत्तिको अवस्था बनेको बताएका छन् । उनले खानेपानी योजना क्षतिग्रस्त भएपछि विदुर नगरपालिकाका ५ हजारभन्दा बढी घरधुरीका ३० हजारभन्दा बढी मानिस खानेपानीको समस्याबाट प्रभावित भएको बताए ।

‘भदौ १० गते जुन भोटेकोशीबाट आएको बाढीले नुवाकोट जिल्लाभरि नै धेरै ठुलो क्षति भएको छ । यो हाम्रोलाई एउटा विपत्ति होइन, यो महाविपत्ति हो, उनले भने, ‘त्यो बाढीले हाम्रो यो विदुर नगरपालिकामा सञ्चालित विदुर खानेपानी योजनाको मुहान टोटल्ली भत्काएको छ । साढे सात किलोमिटर पाइपलाइन एरिया यसले नि भत्कायो । त्यसले गर्दा यहाँको लगभग ५ हजार भन्दा बढी घरधुरी र ३० हजार भन्दा बढी व्यक्तिहरूले खाइरहेको खानेपानी योजना बिगारेको कारणले गर्दाखेरि खानेपानीको ठुलो समस्या भयो ।’

उनले खानेपानीको समस्या समाधानका लागि नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय र अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासङ्घको सहकार्यमा भूमिगत पानी निकाल्ने गहिरो नलकूप योजना सुरु गरिएको जानकारी दिए ।

उनका अनुसार गहिरो नलकूपमार्फत पानी निकालेर मुख्य खानेपानीको लाइनमा जोड्ने तयारी भइरहेको छ । यसबाट बाढीका कारण प्रभावित नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन सहज हुने अपेक्षा गरिएको छ ।

यसैगरी विदुर नगरपालिकाको माझीटारमा रहेको अर्को गहिरो नलकूपसमेत बाढीका कारण बिग्रिएको अवस्थामा रहेकाले त्यसको मर्मत कार्य अघि बढाइएको छ । नगरपालिकाकै अन्य दुई स्थानमा रहेका गहिरा नलकूपबाट समेत पानी निकालेर मुख्य खानेपानीको लाइनमा जोड्ने तयारी भइरहेको छ ।

रेडक्रसले विभिन्न स्थानबाट भूमिगत पानीको व्यवस्थापन गरी मुख्य खानेपानी प्रणालीमा जोड्ने काममार्फत बाढीपछि उत्पन्न खानेपानीको समस्या समाधान गर्ने प्रयास लागि रहेको उनले बताए ।