Dhulikhel Eco Banner new

दसैँका चार दिन काठमाडौंमा फोहोर संकलन प्रभावित हुने, घरमै राख्न महानगरको आग्रह

377
shares

काठमाडौं, ३० असोज। दसैँ पर्वका कारण काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन चार दिन प्रभावित हुने भएपछि काठमाडौं महानगरपालिकाले घर, कार्यालय तथा व्यवसायबाट निस्कने फोहोर सुरक्षित रूपमा आफ्नै परिसरभित्र राख्न आग्रह गरेको छ।

महानगरपालिकाका अनुसार आगामी कात्तिक १ गतेदेखि ४ गतेसम्म बञ्चरेडाँडा स्यानिटरी ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापन प्रभावित हुनेछ। दसैँ मनाउन सफाइ कर्मचारीहरू बिदामा जाने भएकाले उक्त अवधिमा फोहोर संकलन तथा विसर्जन नियमित हुन नसक्ने जनाइएको छ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईले यस अवधिमा उत्पादन हुने फोहोर कुहिने र नकुहिने गरी छुट्याएर राख्न आग्रह गरेकी छन्। फोहोर सडक, चोक, नदीकिनार तथा सार्वजनिक स्थानमा नफाल्न पनि महानगरले अनुरोध गरेको छ।

महानगरका अनुसार कात्तिक १ देखि ४ गतेबाहेक अन्य दिनमा फोहोर व्यवस्थापन सेवा नियमित सञ्चालन हुनेछ। त्यसैले नगरवासीलाई चाडपर्वका बेला आफ्नो घरआँगन र टोल सफा राख्दै फोहोरको उचित व्यवस्थापन गर्न आग्रह गरिएको छ।