Dhulikhel Eco Banner new

भरतपुरका ६ प्रमुख चोकमा ट्राफिक बत्ती परीक्षण हुँदै, सञ्चालनको तयारी अन्तिम चरणमा

845
shares

काठमाडौं, ३० असोज। चितवनको भरतपुर र नारायणगढ बजारका प्रमुख चोकमा जडान गरिएका ट्राफिक बत्तीको परीक्षण आज (असोज ३० गते) साँझदेखि सुरु गर्ने तयारी गरिएको छ। सवारीसाधनको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा देखिएको समस्या कम गर्ने उद्देश्यले जडान गरिएका बत्ती सञ्चालनको अन्तिम तयारीमा पुगेका हुन्।

निर्माण कम्पनी एभरेस्ट टु सी–अमर ज्योति जेभीका सञ्चालक सुमन थापाका अनुसार आज साँझसम्म केही स्थानमा ट्राफिक बत्तीको परीक्षण सुरु गरिनेछ। दसैँअघि नै बत्ती सञ्चालनमा ल्याउने लक्ष्यसहित काम अघि बढाइएको उनले बताएका छन्।

भरतपुर महानगरपालिका क्षेत्रका छवटा प्रमुख चोकमा ट्राफिक बत्ती जडान गरिएको छ। नारायणगढको पुलचोक, सहिदचोक, चौबीसकोठी, हाकिमचोक, केन्द्रीय बस टर्मिनल र मालपोत चोकमा बत्ती राखिएको हो। यी स्थानमा सवारीसाधनको आवागमन बढी हुने र फराकिला सडकमा ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

ट्राफिक प्रहरीको कन्ट्रोल रुमबाटै नियन्त्रण

जडान गरिएका ट्राफिक बत्तीको सञ्चालन तथा अनुगमन जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको कन्ट्रोल रुमबाट कम्प्युटर प्रणालीमार्फत गरिनेछ। कुन चोकमा कति समयसम्म रातो, पहेँलो र हरियो बत्ती बाल्ने भन्ने व्यवस्थापन पनि त्यहीँबाट गरिने जनाइएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाका अनुसार सुरुवाती चरणमा प्रत्येक चोकमा दुई–दुई जना ट्राफिक प्रहरी खटाएर चालक तथा पैदलयात्रीलाई बत्तीको संकेत र नियमबारे सचेत गराइनेछ। सडक प्रयोगकर्ताले संकेत पालना गर्न थालेपछि क्रमशः प्रहरीको प्रत्यक्ष उपस्थितिलाई घटाउँदै बत्तीको प्रणालीबाटै सवारी व्यवस्थापन गर्ने योजना छ।

ट्राफिक बत्ती जडान गरिएका चोकमा निगरानी प्रभावकारी बनाउन थप सीसी क्यामेरा राख्ने तयारीसमेत गरिएको छ। यसले सवारी आवागमनको अनुगमन र ट्राफिक नियम कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

निर्धारित समयभन्दा पाँच महिना ढिलाइ

भरतपुरका छवटा चोकमा ट्राफिक बत्ती जडान गर्न २०८२ साउन २० गते मूल्य अभिवृद्धि करसहित १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण कार्य २०८२ चैत २० गतेभित्र सम्पन्न हुनुपर्ने थियो। तर, निर्धारित समयमा काम नसकिएपछि आयोजना ढिलाइ भएको हो।

समयमै काम सम्पन्न नगरेको भन्दै निर्माण कम्पनीलाई दैनिक पाँच हजार रुपैयाँका दरले जरिवाना लगाएर काम अघि बढाइएको जनाइएको छ। जेनजी आन्दोलन, प्राविधिक काममा भएको ढिलाइ तथा दसैँका बेला बढेको सवारी चापले पनि आयोजना प्रभावित भएको निर्माण पक्षले जनाएको छ।

ट्राफिक बत्ती नियमित रूपमा सञ्चालनमा आएपछि चोकहरूमा सवारीसाधनको आवागमन व्यवस्थित हुने, चालकबीच हुने अनावश्यक प्रतिस्पर्धा घट्ने र दुर्घटनाको जोखिम न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। तर, यसको प्रभावकारिता भने बत्तीको नियमित सञ्चालन, चालकको नियमपालना र प्रभावकारी अनुगमनमा निर्भर रहनेछ।