हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
वि.सं.२०८३ कात्तिक १६ सोमवार ०९:५९
shares

काठमाडौं, १६ कात्तिक। हिम पर्वत हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) मा आवेदन दिने आज (कात्तिक १६ गते) अन्तिम दिन रहेको छ। कम्पनीले गत कात्तिक ११ गतेदेखि उक्त आईपीओ बिक्री खुला गरेको थियो।
कम्पनीले जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको ५९ लाख १५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको छ। जसमध्ये सर्वसाधारणका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने ४ करोड २२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख २२ हजार ५०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरिएको हो।
यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ।
आईपीओ निष्काशनका लागि गराइएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी इस्यूअर रेटिङ डबल बी प्लस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको २० मेगावाट क्षमताको साँगु खोला जलविद्युत आयोजनाको कुल लागत ३ अर्ब ६५ करोड १७ लाख ८७ हजार २५४ रुपैयाँ रहेको छ। आयोजनाको प्रतिमेगावाट लागत १८ करोड २५ लाख ८९ हजार ३६३ रुपैयाँ रहेको छ। उक्त आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि २८ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.०९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.०८ वर्ष रहेको छ। यस आयोजनाबाट कम्पनीले २०८२ असोज २५ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ।
त्यस्तै, ५.५ मेगावाट क्षमताको साँगु खोला–१ जलविद्युत आयोजनाको कुल लागत १ अर्ब १५ करोड ४ लाख ५३ हजार ८९ रुपैयाँ रहेको छ। यसको प्रतिमेगावाट लागत २० करोड ९१ लाख ७३ हजार २८९ रुपैयाँ रहेको छ। यस आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको अवधि पनि २८ वर्ष बाँकी रहेको छ। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ९.५६ वर्ष रहेको छ। यस आयोजनाबाट कम्पनीले २०८२ साउन ८ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत सी–आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्। साथै, सीडीएस एण्ड क्लियरिङ लिमिटेडको मेरो शेयर अनलाइन प्रणाली प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।



















