यसवर्ष भाइटीकाको उत्तम साइत बिहान ११:०७ बजे
वि.सं.२०८३ कात्तिक १८ बुधवार ०८:१४
shares

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यसवर्षको तिहार (यमपञ्चक) का विभिन्न पर्व र भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिका अनुसार यस पटकको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ, जसको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा जुरेको छ ।
टीका लगाउँदा दाजुभाइ र दिदीबहिनी बस्ने दिशालाई पनि समितिले स्पष्ट पारेको छ । साइतको समयमा टीका लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने र टीका ग्रहण गर्ने दाजुभाइ पश्चिम फर्किनुपर्ने शास्त्रीय नियम रहेको समितिले जनाएको छ ।
समितिको विवरणअनुसार कात्तिक २० गते शुक्रबार धनत्रयोदशी (धन्तेरस) र यमदीपदानसँगै तिहारका पर्वहरू सुरु हुनेछन् । यसैगरी, २१ गते शनिबार काग तिहार तथा धन्वन्तरी जयन्ती र २२ गते आइतबार नरक चतुर्दशी, कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ ।
कात्तिक २३ गते सोमबार गाईपूजा गरिनेछ भने २४ गते मंगलबार गोवर्द्धन पूजा (गोरुपूजा), हलितिहार र नेवा: समुदायको म्हपूजा मनाइनेछ । सोही दिन (कात्तिक २४ गते) बाट नयाँ वर्ष नेपाल संवत् ११४७ समेत प्रारम्भ हुनेछ । त्यसको भोलिपल्ट अर्थात् कात्तिक २५ गते यमद्वितीया (किजापूजा) का दिन भाइटीका लगाएर यसवर्षको तिहार समापन हुनेछ ।



















