दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम पनि साढे ४ अर्बमा सीमित
वि.सं.२०८३ कात्तिक १९ बिहीवार १५:१३
shares

काठमाडौं, १९ कात्तिक। साताको कारोबारको दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन बुधबार अन्तिम समयमा सकारात्मक बनेको बजार यस दिन भने पुनः ओरालो लागेको हो।
यस दिन नेप्से परिसूचक १२.९५ अंकले घटेर २६५२.५८ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.५७ अंक, फ्लोट इन्डेक्स ०.९६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६८ अंकले घटेका छन्।
नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। बुधबार ७ अर्ब ४३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको बजारमा बिहीबार ४ अर्ब ७२ करोड २२ लाख ३६ हजार रुपैयाँको कारोबार भएको छ।
यस दिन ३४९ वटा स्टकको ४४ हजार ४१२ पटकको कारोबारमा १ करोड २३ लाख ७३ हजार कित्ता शेयर खरिदबिक्री भएका छन्।
कारोबारमा आएका मूल्य घट्ने स्टकहरूको तुलनामा मूल्य बढ्ने स्टकको वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। यस दिन १०.२५ प्रतिशत केबीएल डिबेञ्चर २०८६ को मूल्य सर्वाधिक ५.०९ प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावरको शेयरमूल्य पनि साढे ४ प्रतिशतले घटेको छ। अन्य स्टकको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ। कम्पनीको १८ करोड १९ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको साढे १४ करोड रुपैयाँभन्दा बढी र घलेम्दी हाइड्रोको १४ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये लघुवित्त उपसमूहको परिसूचक मात्रै सामान्य बढेको छ। बाँकी १२ उपसमूहका परिसूचक घटेका छन्।
उपसमूहमध्ये उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक ६६.१२ अंकले घटेको छ।
समग्रमा बजार परिसूचकसँगै कारोबार रकमसमेत घट्दा बिहीबार शेयर बजारमा लगानीकर्ताको कारोबार सहभागिता र बजारको गति कमजोर देखिएको छ।



















