Dhulikhel Eco Banner new

युनिलिभर नेपालको आम्दानी बढ्यो, तर नाफा १६ प्रतिशतले घट्यो

364
shares

काठमाडौं, १९ कात्तिक। बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपाल लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आम्दानी बढे पनि खुद नाफामा भने गिरावट आएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा २५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। यससँगै कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशतले घटेको हो।

समीक्षा अवधिमा कम्पनीको मुख्य व्यावसायिक आम्दानी १२ प्रतिशतले बढेर २ अर्ब २४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो आम्दानी २ अर्ब ३७ लाख रुपैयाँ रहेको थियो।

चाडपर्व लक्षित बजार विस्तार तथा बिक्री परिमाणमा भएको वृद्धिले कम्पनीको आम्दानी बढाउन सहयोग गरेको छ। होम केयरलगायत कम्पनीका सबै व्यावसायिक समूहले राम्रो प्रदर्शन गरेका छन्। तर, कच्चा पदार्थको बढ्दो लागत, प्रतिकूल उत्पादन मिश्रण र मुद्रास्फीतिजन्य दबाबका कारण नाफामा असर परेको कम्पनीले जनाएको छ।

यसका अतिरिक्त गत भदौमा आएको भोटेकोशी बाढीबाट प्रभावित समुदायको उद्धार तथा पुनर्स्थापनाका लागि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ नगद सहयोग गरेको थियो। कम्पनीले प्रभावित समुदायका लागि अन्य अत्यावश्यक सामग्रीसमेत उपलब्ध गराएको थियो।

उक्त राहत योगदानलाई समायोजन गरेर हेर्दा कम्पनीको मूल व्यावसायिक गतिविधिबाट प्राप्त खुद नाफामा करिब ४ प्रतिशतले मात्रै गिरावट आएको देखिन्छ।

कम्पनीको चुक्ता पुँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ। त्यस्तै, जगेडा तथा सञ्चित मुनाफामा ५ अर्ब २७ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।

वित्तीय विवरणअनुसार कम्पनीको पहिलो त्रैमासिक प्रतिशेयर आम्दानी (ईपीएस) २७४ रुपैयाँ रहेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ भने ५ हजार ८३० रुपैयाँ पुगेको छ।