Dhulikhel Eco Banner new

अयोध्या–जनकपुर रेल सञ्चालनको तयारी तीव्र, ट्रयाक परीक्षण गर्न भारतीय रेल जनकपुरधाम आइपुग्यो

481
shares

काठमाडौं, १९ कात्तिक। भारतको अयोध्यादेखि जनकपुरधामसम्म रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेको छ । विगत एक महिनादेखि रेल सञ्चालनका निम्ति नेपाल र भारतीय रेल विभागका कर्मचारीहरुले पटक पटक अनुगमन तथा छलफल गर्दै आएका छन् ।

यसै क्रममा बिहीबार (आज) भारतबाट १७ बोगीको भारतीय प्यासेन्जर ट्रेन, ट्रयाक टेस्टका लागि जनकपुरधाम आइपुगेको छ ।

नेपाल रेल्वेका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार ठूलो र बढी क्षमताको ट्रेन हालको ट्रयकमा चल्ने सक्छ कि सक्दैन भन्ने जाँच गर्नका लागि भारतबाट ईस्ट सेन्ट्रर रेल्वेले आज परीक्षण गरेको हो ।

उनका अनुसार आज आएको रेलमा भारतीय रेल विभागका ६७ जना पदाधिकारीहरु परीक्षणका लागि कुर्था स्टेशनसम्म रेलमा सवार भएर आएका हुन् । उक्त रेल आजै भारत फर्किने र परीक्षण रिर्पोट तयार गरी सम्बन्धित निकायमा बुझाउने प्रबन्ध निर्देशक पराजुलीले जानकारी दिए ।

अयोध्या जनकपुर रेल सञ्चालनको तयारी तीव्र रुपमा भइरहेतापनि कहिलेदेखि सुरु हुने भन्ने यकिन नभइसकेको पराजुलीले बताए ।

उनले दुबै देशका रेल विभागकाबीच पनि सम्झौत लगायतका कार्यहरु बाँकी रहेको जानकारी दिए । पराजुलीले नेपालतर्फका स्टेशन हल्टहरुको मर्मत सम्भार तथा सरसफाइका कार्यहरु भइरहेको बताए ।

प्रधानमन्त्री बालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अयोध्याबाट जनकपुरधामसम्म चल्ने रेलको उद्घाटन केही दिनपछि प्रधानमन्त्री साहको भारत भ्रमणको बेला संयुक्त रुपमा हुने जनाइएको छ ।