Dhulikhel Eco Banner new

त्रिभुवन विमानस्थलमा लाइभ ब्यागेज मनिटरिङ सुविधा, यात्रुले अब स्क्रिनबाटै सामान हेर्न पाउने

533
shares

काठमाडौं, २० कात्तिक । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुका लागि नयाँ लाइभ ब्यागेज मनिटरिङ सुविधा सञ्चालनमा ल्याइएको छ। यस सुविधामार्फत विदेशबाट नेपाल आउने यात्रुले आफ्नो सामान विमानबाट झारेर ब्यागेज क्लेम क्षेत्रमा पुर्‍याइँदै गरेको दृश्य प्रत्यक्ष हेर्न सक्नेछन्।

विमानस्थलको आगमनतर्फ रहेको ब्यागेज क्लेम क्षेत्रमा जडान गरिएका स्क्रिनमार्फत यात्रुले सामान झार्ने तथा वितरण गर्ने क्षेत्रको प्रत्यक्ष दृश्य हेर्न सक्ने व्यवस्था गरिएको हो।

नयाँ प्रणालीले यात्रुलाई आफ्नो सामानको अवस्थाबारे जानकारी लिन र सामान प्राप्त गर्न कति समय लाग्न सक्छ भन्ने अनुमान गर्न सहज बनाउने अपेक्षा गरिएको छ। यसबाट सामान पर्खनुपर्ने समयबारे हुने अन्योलसमेत कम हुने विश्वास गरिएको छ।

विमानस्थलमा यात्रु सेवाको गुणस्तर सुधार, सेवा प्रवाहमा पारदर्शिता अभिवृद्धि तथा यात्रुको अनुभवलाई सहज बनाउने उद्देश्यले यो सुविधा सुरु गरिएको हो।

लाइभ ब्यागेज मनिटरिङ सुविधाले अन्तर्राष्ट्रिय यात्रुका लागि सामान संकलन प्रक्रियालाई थप व्यवस्थित र सुविधाजनक बनाउने अपेक्षा गरिएको छ।