Dhulikhel Eco Banner new

पहिलो त्रैमासमा उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत, विदेशी मुद्रा सञ्चिति ४१ खर्ब ६१ अर्ब

910
shares

काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३७ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी प्रतिवेदनअनुसार गत असोजमा मुद्रास्फीति उक्त दरमा पुगेको हो। अघिल्लो आर्थिक वर्षको सोही महिनामा उपभोक्ता मुद्रास्फीति १.४७ प्रतिशत थियो।

राष्ट्र बैंकको प्रतिवेदनअनुसार समीक्षा अवधिमा मुलुकको वैदेशिक व्यापार, विप्रेषण आप्रवाह, विदेशी विनिमय सञ्चिति तथा बाह्य क्षेत्रका अन्य सूचकमा वृद्धि देखिएको छ।

निर्यात र आयात दुवैमा वृद्धि

चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म कुल वस्तु निर्यात ५७ प्रतिशतले वृद्धि भई १ खर्ब १४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात वृद्धिदर ८९.६ प्रतिशत थियो।

यस अवधिमा कुल वस्तु आयात ३८.२ प्रतिशतले वृद्धि भई ६ खर्ब ४६ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा आयात वृद्धिदर १९.८ प्रतिशत रहेको थियो।

निर्यात र आयात दुवै बढे पनि समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा ३४.७ प्रतिशतले वृद्धि भई ५ खर्ब ३२ अर्ब ४९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा वृद्धिदर १२.२ प्रतिशत थियो।

विप्रेषण आप्रवाह ७ खर्ब ३ अर्ब रुपैयाँ

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा विप्रेषण आप्रवाह २७.२ प्रतिशतले वृद्धि भई ७ खर्ब ३ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ३५.४ प्रतिशतले बढेको थियो।

राष्ट्र बैंकका अनुसार २०८३ असोज महिनामा मात्रै २ खर्ब ६७ अर्ब ३४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ। अघिल्लो वर्षको असोजमा यस्तो रकम २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ थियो।

चालु खाता र शोधनान्तर बचतमा

समीक्षा अवधिमा चालु खाता २ खर्ब ७९ अर्ब ११ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता बचत २ खर्ब ३८ अर्ब रुपैयाँ थियो।

त्यस्तै, शोधनान्तर स्थिति ३ खर्ब ३ अर्ब ७९ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ थियो।

विदेशी विनिमय सञ्चिति ४१ खर्ब नाघ्यो

२०८३ असार मसान्तमा ३८ खर्ब ९७ अर्ब ६७ करोड रुपैयाँ रहेको कुल विदेशी विनिमय सञ्चिति ६.८ प्रतिशतले वृद्धि भई असोज मसान्तमा ४१ खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।

अमेरिकी डलरमा गणना गर्दा विदेशी विनिमय सञ्चिति असार मसान्तको २५ अर्ब ३१ करोड डलरबाट ८.२ प्रतिशतले वृद्धि भई असोज मसान्तमा २७ अर्ब ३९ करोड डलर पुगेको राष्ट्र बैंकले जनाएको छ।

समीक्षा अवधिको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १९.९ महिनाको वस्तु आयात र १७.२ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने प्रतिवेदनमा उल्लेख छ।

सरकारी खर्च र राजस्व परिचालन

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल सरकारको कुल खर्च ३ खर्ब ९६ अर्ब २७ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा सरकारको राजस्व परिचालन २ खर्ब ९८ अर्ब ६१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ।

निक्षेप र कर्जा प्रवाहमा वृद्धि

समीक्षा अवधिमा विस्तृत मुद्राप्रदाय ४.४ प्रतिशतले बढेको छ। वार्षिक विन्दुगत आधारमा यस्तो वृद्धिदर १४.८ प्रतिशत रहेको छ।

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप परिचालन २.८ प्रतिशतले वृद्धि भएको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जा ३.१ प्रतिशतले बढेको छ।

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १३.७ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.३ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

ब्याजदरको अवस्था

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबीचको भारित औसत अन्तरबैंक दर २.७५ प्रतिशत रहेको छ। ९१ दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर १.०१ प्रतिशत कायम भएको छ।

यसैगरी, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.०७ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर ६.३१ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको पहिलो त्रैमासिक प्रतिवेदनले समीक्षा अवधिमा मुद्रास्फीति, वैदेशिक व्यापार, विप्रेषण, बाह्य क्षेत्र, सरकारी वित्त तथा बैंकिङ क्षेत्रका सूचकहरूको अवस्था प्रस्तुत गरेको छ।