वार्षिक धन फिर्ता बीमामा झेली : कम्पनी नोक्सानमा, समिति मौन
वि.सं.२०७९ असार ३२ शनिवार ०७:०१
shares

काठमाडौं, ३१ असार । आर्थिक वर्षको अनत्यसँगै जीवन बीमा कम्पनीहरुमा तनाव बढ्दै छ । संचालक समितिले दिएको व्यवसायको टार्गेट नपुगेको कारण कसै गरी व्यवसाय ल्याउन केन्द्रिय कार्यालय व्यवस्थापनले शाखाहरुलाई दवाव दिइरहेका छन ।
कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी नपाएको कारण बीमा प्रति नकरात्मक धारण बढिरहेको छ । बीमा समितिको बेला बेलाको जरिवाना र कम्पनी प्रतिको आरोपले आम जनतामा बीमा प्रति अविश्वास बढ्दै गइरहेको छ । त्यस्मा आर्थिक मन्दीको कारण बैंकहरुले कर्जा रोकेको कारण बीमा कारोबार सोचे जस्तो हुन सकेको छैन ।
त्यसैले पनि जीवन बीमा कम्पनीहरु बीमा समितिको निर्देशन र प्रोडक्टमा भएको लुपहोल खोजेर अप्राकृतिक बीमा कारोकारमा लागेका छन । जस्को ज्वलन्त उदाहरण जीवन बीमा कम्पनीहरुको वार्षिक धनफिर्ता योजना भएको छ ।
यो प्रोडक्टमा बीमा गर्दा प्रति वर्ष निश्चित प्रतिशत प्रिमियम फिर्ता पाउने हुन्छ । कसै गरी बीमा कारोबार बृद्धि गर्न र आफ्नो परफरमेन्स राम्रो देखाउन केही बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापन यो प्रोडक्ट अत्याधिक विक्रि तर्फ लागेका छन ।
कम्पनीलाई सरासर आर्थिक नोक्सानमा पारेर एक वर्ष पछिनै ल्याप्स हुने गरी यो पोलिसी अत्याधिक विक्रि गरीरहेका छन । कम्पनीहरुको व्यवसाय घटी रहेको बेला बीमामा ग्रोथ देखिने भएको कारण बीमा समिति पनि मौन रहेको छ ।
वार्षिक धन फिर्ता बीमा योजनामा दुई किसिमले कम्पनीलाई घाटामा पार्ने गरी यो खेल भइरहेको छ। यसलाई समय मै नियन्त्रण गर्न बीमा समितिले उचित कदम चालेन भने जीवन बीमा कम्पनीहरु भित्रि रुपमा ठुलै नोक्सानीमा जाने निश्चित रहेको बीमा सम्बद्ध जानकारहरु बताउछन ।
खेल नम्बर एक
बार्षिक धन फिर्ता योजनामा प्राय २० बर्षे पोलिसी जारी गरिन्छ । यस्मा प्रत्येक बर्ष नबिकरणको वेला वीमितले विमांकको ५ प्रतिशत रकम फिर्ता पाउँछ । कम्पनीहरुले अभिकर्ताको मिलो मतोमा मानौ एक करोड वीमांकको बीमा गर्यो ।
कम उमेरको मानिसको बीमा गर्दा बार्षिक रु.७,००,००० (उदाहरण) प्रिमियम तिर्नु पर्ने हुन्छ । अव यहाँ नक्कली अभिकर्ता वनाई २५ प्रतिशत कमिशन, १८ प्रतिशत इन्सेन्टिभ र औसतमा १८ प्रतिशत ननाघ्ने अनुमानमा थप ३ देखि ५ प्रतिशत इन्सेन्टिभ दिइन्छ। यसरी ५० प्रतिशतको हाराहारीमा कमिशन र इन्सेन्टिभ भयो ।
रु. ७,००,००० मा रु. ३,५०,००० कमिशन र इन्सेन्टिभ घटाए पछि तिर्नु पर्ने रु. ३,५०,००० मात्र भयो । अव रु.३,५०,००० मात्र तिरेर १ करोडको वार्षिक धन फिर्ता बीमा पोलिसी जारी भयो । एक वर्ष पछि बीमितले ५ प्रतिशत प्रिमियम फिर्ता वापत रु. ५,००,००० फिर्ता भुक्तानी लियो । त्यो बीमालाई उसले निरन्तरता दिदैन ।
यसरी ७,००,००० प्रिमियम लिएर लगानी गरी ब्याज कमाउनु पर्ने बीमा कम्पनीले ३,५०,००० मात्र पायो र एक वर्ष पछि व्याज घाटा बाहेक सो बीमामा फेरी १,५०,००० थप घाटा खाएर रु. ५,००,००० तिर्नु प¥यो । यहाँ फेरी पहिलेको पोलिसी ल्याप्स गरेर पाएको प्रिमियम फिर्ता मध्ये रु. ३,५०,००० तिरेर अर्को एक करोडको जीवन बीमा गरिन्छ र यो क्रम प्रत्येक वर्ष दोहोरिदै व्यवसाय बढेको देखिन्छ तर कम्पनी घाटामा गैरहेको पाइन्छ।
खेल नम्बर–२
वार्षिक धन फिर्ता योजनामा दोस्रो तरिकाले पनि पोलिसी जारी गरी कम्पनीलाई करोडौ नोक्सान पार्ने र नक्कली बीमा कारोबार देखाउने गरिएको छ । यो खेलमा बैंकहरुलाई माध्यम बनाइएको छ ।
पहिलो खेलमा वीमितबाट ५० प्रतिशत प्रिमियम जम्मा गराई एक वर्ष पछि रु. ३,५०,००० जम्मा रकममा १,५०,००० नगद फाइदा गराउने र एक करोडको निशुल्क जोखिम कभर गराइएको हुन्छ । बैंकलाई माध्यम बनाई गरिएको दोस्रो खेलमा वीमितले कुनै रकम जम्मा नगरेर एक करोडको बीमा र बीमा गरेकै वर्ष रु. १,००,००० नाफा हुने गरेको छ ।
यस्मा १ करोड बीमा हुँदा तिर्नु पर्ने रु.३,५०,००० प्रिमियम रकमको लागि बैंकलाई प्रयोग गर्छन । बीमा कम्पनीले वीमितको नाम, बीमाङ्क रकम र एक वर्ष पछि फिर्ता भुक्तानी हुने रकम लेखिन्छ र अप्रत्यक्ष ग्यारेन्टि गरिन्छ । बैंकले बीमा कम्पनीको रु. ५,००,००० पाउने आधारमा एक वर्षको हुने ब्याज गणना गरी बीमितलाई रु. ४,५०,००० सम्म कर्जा प्रदान गर्छ ।
बीमितले पाएको कर्जा रकम रु. ४,५०,००० बाट रु. ३,५०,००० बीमा कम्पनीमा प्रिमियम तिर्छ र एक रुपैया लगानी नगरी रु. १,००,००० लिएर जान्छ । १ करोडको निशुल्क बीमा जोखिम सुविधा पाउँछ ।
एक वर्ष पछि बीमा कम्पनीले वीमितबाट लिएको लिखित मंजुरीनामा बमोजिम कित बैंकमा वार्षिक घनफिर्ताको पाउने ५ प्रतिशत रकम वराबर ५,००,००० पठाउछ र हिसाब फर्छ्यौट गर्छ । अथवा बीमा कम्पनीमा बैंक कर्जा सम्बन्धी कुनै रेकर्ड नराखेर सबै नगदमा गरेर विमित मार्फत बैक कर्जाचुक्ता गराउछ र त्यो बीमा एक वर्ष पछि ल्याप्स हुन्छ ।
पहिलो भन्दा दोस्रो खेलमा कम्पनीलाई अझै बढी आर्थिक नोक्सानी हुने देखिन्छ ।दोस्रो खेलमा बैंक कर्जा शत प्रतिशत सुरक्षीत रही बैंक फाइदामा हुन्छ । बीमा कम्पनीमा कुनै बैंक कागज नराखी शुद्ध कारोबार देखाएर बीमा कारोबार बृद्धि देखाइन्छ । अनि वीमीतले एक पैसा लगानी नगरी बीमा गर्दाको अवस्थामा १ लाख नगद फाइदा पाउँछ । समग्रमा कम्पनी ठुलो आर्थिक नोक्सानीमा हुन्छ र अस्वभाविक नक्कली कारोबार बढी देखिन्छ ।
वार्षिक धनफिर्ता यो दुवै खेलमा कम्पनी ठुलो नोक्सानीमा हुने हुँदा यसलाई नियामक निकाय बीमा समितिले बेलैमा नियन्त्रण गर्नु जरुरी छ । यस्को एउटै मात्र उपाय हो वार्षिक ५ प्रतिशत रकम फिर्ता दिनु भन्दा अगाडी सो बीमामा तिर्नु पर्ने वार्षिक प्रिमियम तिर्न लगाउनु ।
अर्थात प्रत्येक वर्ष तिर्नु पर्ने वार्षिक प्रिमियम तिरिसकेपछि मात्र फिर्ता दिनु पर्ने ५ प्रतिशत वा फिर्ता दिनु पर्ने रकम भुक्तानी गर्ने । दोस्रो उपाय भनेको वार्षिक धन फिर्ता पोलिसीमा दिने इन्सेन्टिभलाई कम गर्ने ।
तेस्रो उपाय बैंकहरुलाई बीमा कम्पनीको यस्तो ग्यारेन्टी वा बीमा कम्पनीबाट फिर्ता पाउने रकमको पत्रको आधारमा कुनै पनि कर्जा नदिन अनुरोध गरी सर्कुलर जारी गर्ने । त्यसै गरी कम्पनीको संचालक समितिले मासिक रुपमा सिंगल पोलिसी र वार्षिक धन फिर्ता योजना के कति विक्रि भएको छ , कति कमिशन र इन्सेन्टिभ गएको छ तथा प्रत्येक वर्ष ल्याप्स के कति भएकोछ भनेर खोजी नीति गरेर पनि यस्तो विकृति रोक्न सकिन्छ । यस तर्फ बीमा समिति र संचालक समिति सतर्क हुनु जरुरी छ ।















