नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा करिब १५ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता छन् ?
वि.सं.२०७९ साउन ११ बुधवार १०:४२
shares

काठमाडौं, ११ साउन । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार नाफामा राम्रो सुधार देखिएको छ ।
एक वर्षको अवधिमा बैंकले ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको भन्दा १४ दशमलव ८३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष यस बैंकले ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ कमाएको हो ।
बैंकको शेयर क्यापिटल एक वर्षको अवधिमा १२ दशमलव ६१ प्रतिशतले बढेर १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार पुगेको हो । बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ३७ प्रतिशतले बढेर ५ अर्ब ९४ करोड ९ लाख ६८ हजार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ५९ करोड ३ लाख ५४ हजार खुद ब्याज आम्दानी गरेकोे थियो । बैंकको निस्कृय कर्जामा पनि सुधार भएको छ । अघिल्लो अवधिमा २ दशमलव ४६ प्रतिशत रहेको निस्कृय कर्जा घटेर १ दशमलव ४६ प्रतिशतका आएको छ । यो अधिल्लो त्रैमासिकको भन्दा ४० दशमलव २४ प्रतिशतले कमी हो ।
बैंकको २१. १० रुपैयाँ रहेको इपीएस बढेर २२.३२ रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको भन्दा १ दशमलव ९७ प्रतिशतले बढेको हो । सञ्चालन मुनाफा ३१ दशमलव ४१ प्रतिशतले बढेको छ । बैंकको बेस रेट ५.५४ प्रतिशतबाट बढेर ८ दशमलव ५९ प्रतिशत पुगेको छ ।















