शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग
वि.सं.२०७९ साउन १३ शुक्रवार १३:१२
shares

काठमाडौं, १३ साउन । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका लागि पहिले शिक्षामा सुधार गर्नुपर्ने औँल्याएका हुन ।
सांसद् नारायणप्रसाद खतिवडा अहिले एसइई परीक्षामा सामुदायिक र निजीमा फरक नतिजा देखिएकाले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारेर आगामी वर्ष राम्रो नतिजा ल्याउनुपर्नेमा जोड दिए । सांसद पार्वतीकुमारी विसुङ्खेले सरकारले इसिडिका सहजकर्ताले तोकिएको तलब नपाएकाले त्यसमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद डा डिला सङ्ग्रौलाले गुणस्तरिय नर्सिङ सेवामा सम्झौता नहुने गरी नर्सिङ अध्ययनको वातावरण बनाउन माग गरे । सांसद दुर्गाबहादुर राउतले शिक्षामा परिवर्तन नहुँदासम्म अरु परिवर्तन अवरोध हुने भन्दै शिक्षामा विभेदिकरण रोकिनुपर्नेमा जोड दिए । सांसद टेकबहादुर बस्नेतले राप्ती राजमार्गमा बजेट नै नपर्ने र परेको बजेट कार्यान्वयन नभएको भन्दै काम नगर्ने व्यवसायीलाई कारबाहीको माग गरे ।
सांसद् दिलकुमारीले लोक सेवाले मधेसका लागि जनशक्ति माग नगर्दा स्थानीय तहमा करारमा कर्मचारी रहेकाले भर्ना प्रक्रिया अघि बढाउन माग गरे । सांसद दिव्यमणि राजभण्डारीले यो अधिवेशनमा महत्वपूर्ण विधेयक पास भए पनि राष्ट्रियसभामा उत्पत्ति भएका महत्वपूर्ण विधेयक रोकिनुको कारणबारे जिज्ञासा राखे ।



















