Dhulikhel Eco Banner new

उत्पादन बढाउन कुचो व्यवसायीलाई कार्यबाहाक अध्यक्ष ढकालको आग्रह

6.66K
shares

काठमाडौं, ४ भदौ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यवहाक अध्यक्ष चन्द्र प्रसाद ढकालले कुचो व्यवसायीलाई उत्पादन बढाएर निर्यात बढाउन तर्फ लाग्न आग्रह गरेका छन् । नेपाल कुचो संघको साधारण सभा तथा प्रथम अधिवेशनमा बोल्दै कार्यवहाक अध्यक्ष ढकालले अहिलेकोभन्दा अझै निर्यात बढाउनु पर्ने बताएका हुन् ।

निर्यातका लागि सहज बनाउनका लागि महासंघले पहल गर्ने बताएका उनले अहिलेकोभन्दा धेरै निर्यात गर्न व्यवसायीले धेरै उत्पादन गर्नु पर्ने उनको भनाइ छ । अहिले अनौपचारीक रुपमा ३–४ अर्बको निर्यात हुने गरेको तथ्यांक रहेकोभन्दै यो भन्दा पनि अझ बढाउन उनले आग्रह गरे । कच्चा पदार्थभन्दा पनि तयार सामान पठाउने तर्फ व्यवसायीहरुले ध्यान दिनु पर्ने उनको भनाइ थियो ।

‘यस क्षेत्रबाट मात्र औपचारिक तथा अनौपचारिक रुपमा लगभग ४ अर्ब रुपैयाँको निर्यात भएको भन्ने सुनेको छु । यसलाई अझ बढाउन आवश्यक छ । तपाईहरुले यस क्षेत्रका समस्याहरु लिखितरुपमै तयार गरेर आउनुभयो भने म नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको रुपमा महासंघको तर्फबाट नेपाल सरकार तथा सरोकारवाला निकायसँग छलफल गरी तपाईहरुका समस्या समाधान गर्न तयार रहनेछु,’ उनले भने ।

त्यस्तै महासंघका पूर्व उपाध्यक्ष उमेशलाल श्रेष्ठले राज्यले निकासीका लागि निकै कम बजेट मात्रै व्यवस्था गर्ने गरेको आरोप लगाएका छन् । सरकारले बजेट व्यवस्थापन नै गरेको छैन् । साना उद्योगलाई बजेट व्यवस्था गर्नु पर्ने उनको भनाइ छ ।

त्यस्तै उद्याग वाणिज्य महासंघका वस्तुगत तर्फका उपाध्यक्ष अंगत श्रेष्ठले व्यवसायी एकीकृत हुन नसक्दा राज्य तथा व्यवसायीलाई नै घाटा हुने गरेको बताए । कुचो व्यवसायीले अम्लिसोको कुचो मात्रैभन्दा पनि टुतपिक लागयतका बस्तु समेत उत्पादन गर्ने तर्फ ध्यान दिनु पर्ने उनको भनाइ थियो । अर्थतन्त्रमा ७७ प्रतिशत योगदान रहेको निजी क्षेत्रसँग सरकारले समन्वय गर्नु पर्ने आवश्यकता रहेको उनको धारणा छ ।

राज्यले अनुगमनका नाममा व्यवसायीको मानमर्दन गर्ने काम गरेको भन्दै यस्ता कार्य रोक्नु पर्ने उनको भनाइ छ । कार्यक्रममा इलाम नगरपालिकाका मेयर केदार थापाले अम्लिोसोलाई कुचोको रुपमा मात्रै भन्दा पनि अन्य प्रयोगका लागि समेत प्रयोग गर्नु पर्ने आवश्यकता रहेको बताए । ‘अम्लिोसोको डाँठबाट काजग निर्माण हुन्छ, घाँसको रुपमा प्रयोग गर्दा मासु तथा दुध उत्पादनमा सहयोग पुग्छ, यस तर्फ पनि व्यवसायीहरुले ध्यान दिनु पर्छ,’ उनले भने ।

यता संघका अध्यक्ष राजकुमार कार्कीले विदेशी मुद्रा आर्जनमा सहयोगी भुमिका खेलिरहेको यो व्यवसायलाई सरकारले ध्यान दिन नसकेको बताए । वार्षिक रुपमा अर्बको हाराहारीमा कुचोको निकासी हुने गरेको सरकारी तथ्यांक रहेको छ । तर अनौपचारीक रुपमा भने करिब ५ अर्बको कुचो निकासी हुने गरेको उनको भनाइ छ ।

सरकारी तथ्यांक अनुसार गत आर्थिक वर्षमा करिब ७० करोडको कुचो नेपालबाट निर्यात भएको छ । यो अघिल्लो आर्थिक वर्षको भन्दा करिब ५ करोड बढी हो । गत आर्थिक वर्षमा ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँ बराबरको १ करोड ४० लाख ७९ हजार ४२५ किलोग्राम कुचो विदेश निकासी भएको अध्यक्ष कार्कीले जानकारी दिए । अघिल्लो वर्ष भने ६५ करोड ८८ लाख १३ हजार रुपैयाँ बराबरको १ करोड ३३ लाख ८३ हजार ३८० किलोग्रामको कुचो भारत र बंगलादेश निकासी भएको देखिन्छ ।