उद्घाटन भएको एक वर्षमा पनि सकिएन धरहराको निर्माण, पाँचौ पटक म्याद थप्ने तयारी
ठेक्केदार भन्छन– निर्माण सकिन अझै एक वर्ष लाग्छ
वि.सं.२०७९ भदौ ९ बिहीवार १०:०१
shares

काठमाडौं, ८ भदौ । २०७२ सालको भुकम्पनले लडेको धरहरा समयमा काम सकिएको भए यतिबेला धरहराको माथिल्लो भागमा पुगेर सर्वसाधारणहरुले काठमाडौं उपत्यकालाई नियाल्न पाउँथेँ । २०७५ सालको असोज १४ गते ठेक्का सम्झौता भएको धरहरा पुनः निर्माणका लागि सुरुमै २ वर्षको समय तोकिएको थियो ।
सम्झौता अनुसार यो कार्य २०७७ असोजमा सकिनु पर्ने थियो । तर अहिलेसम्म पनि यो धरहरा निर्माण सम्पन्न हुन सकेको छैन् । तर तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन भने गरिसकेका छन् । तर निर्माण सकिन भने अझै १ वर्ष लाग्ने निर्माण कम्पनीको भनाइ छ ।
निर्माण सम्पन नहुँदै तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले यसको उद्घाटन गरे । धरहरा उद्घाटन गरेको नै १ वर्ष बढी भइसक्यो । २०७८ सालको बैशाख ११ गते धरहराको उद्घाटन गरिएको थियो । हतारहतार उद्घाटन गरिएको भए पनि यसको भौतिक संरचना निर्माण कार्य भने अहिले पनि ७८ प्रतिशत मात्रै सकिएको धरहरा निर्माण परियोजनाका प्रमुख सन्जय नकर्मीले बताए ।
त्यस्तै धरहरा निर्माणको वित्तीय प्रगति पनि ६६ प्रतिशत मात्रै भएको उनको भनाइ छ । धरहरा निर्माणका लागि भ्याट बाहेक ३ अर्ब ८ करोडमा ठेक्का लागेको थियो । यसको ६६ प्रतिशत भनेको २ अर्ब १२ करोड हो ।
४२ रोपनी क्षेत्रफलमा लिफ्टसहित, गार्डेन लगायत भौतिक संरचना निर्माण गरिने छ । तर अहिले भौतिक संरचना निर्माणको कार्य नै धेरै बाँकी रहेको आयोजना प्रमुख नकर्मीले जानकारी दिए । अहिले पनि कफ विल्डिङको काम फाउन्डेसन मात्रै बनेको उनले बताए । कोभिड तथा समय मै साइट उपलब्ध नभएका कारण काममा ढीलाई भएको उनको भनाइ छ ।
यसका साथै त्यो परिसरमा २२ वटा धारा निर्माण गर्नु पर्ने ठेक्का रहेको छ । जसमध्ये हालसम्म ११ वटा निर्माण सकिएको र ११ वटा अझै बाँकी रहेको छ । निर्माण सम्पन्न नहुँदै भएको उद्घाटनलाई पनि उनी सामान्य नै मान्छन् । ‘हामी भए पनि त्यस्तै गथ्र्यौँ होला, केपी ओलीले पनि त्यहि गर्नु भयो,’ उनले भने ।
पाँचौ पटक समय थप्नु पर्ने
दुई वर्षमा सक्ने गरी ठेक्का लागेको कम्पनीले हालसम्म चार पटक समय थप गरिसकेको छ । चौथोपटक थपिएको समय यहि असोज महिनामा सकिन्दै छ । तर चौथो पटक सकिएको समयमा पनि काम सम्पन गर्न नसकिने र पुनः समय थपका लागि प्रक्रिया अगाडी बढाइएको नकर्मीको भनाइ छ ।
निर्माण कार्य सकिन अझै १ वर्ष लाग्ने परियोजना प्रमुख नकर्मी बताउँछन् । ‘हामीले काम गर्नु पर्ने साइड नै ढिलो प्राप्त भएकाले समय बढी लागेको हो, २२ महिना पछि साइड पाएको काम पनि दुइ वर्षमा सम्पन्न गर्न सम्भवन भएन्,’ उनले भने ।
चौथो पटक थपिएको समयमा निर्माण सम्पन्न नहुने पक्का भइसकेको छ । अहिले समय थपका लागि प्रक्रिया अगाडी बढाइएको उनको भनाइ छ । त्यसका लागि मन्त्रालयसँग कुरा भइरहेको उनले बताए ।
ठेक्का लिएको २२ महिनापछि मात्र पुरानो टक्सारको साइट पाइएको थियो । त्यस्तै हुलाक, काठमाडौं मल लगायतका संरचना भत्काएर नयाँ संरचना निर्माण गर्नुपर्दा पनि केही समय बढी लागेको उनको भनाइ छ ।
अझै १ वर्ष लाग्ने
धरहराको सबै भौतिक संरचना निर्माणका लागि अझै पनि एक वर्ष लाग्ने अनुमान ठेक्केदार कम्पनीको छ । कोरोना तथा साइट पाउन ढीलाई भएका कारणले पनि समयमा निर्माण सम्पन्न हुन सनकेको नकर्मीले दाबी गरे । अहिलेको गतिमा काम हुँदा कम्तिमा १ लाग्ने प्रमुख नकर्मी बताउँछन् ।
स्थानीयले पनि विरोध गरेका कारण समय केही बढी लागेको उनको भनाइ छ । रंगरोगनका लागि पनि समय लाग्ने उनले भएकाले १ वर्ष समय थपका लागि पहल भइरहेको छ ।















