GBIME

सन्दीप लामिछानेलाई के सजाय हुन्छ ? के छ कानुनी व्यवस्था ?

1.24K
shares

काठमाडौं, २२ भदौ । मंगलबार साँझ एकाएक नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने माथि बलात्कारको आरोप लागेको समाचार बाहिरीयो । उनलाई भदौ ५ गते काठमाडौंको एक होटलमा एक नाबालिकालाई जवरजस्ती गरेको आरोप लागेको हो ।

क्यारेबियन प्रिमियर लिग खेल्नका लागि लामिछाने अहिले उतै व्यस्त रहेका छन् । नेपाली टोली एकदिवसीय र टि–२० सिरिज खेल्नका लागि ६ गते केन्या प्रस्तान गरेको थियो । बन्द प्रशिक्षणमा रहेको खेलाडि कसरी ५ गते बाहिर गएर नावालिकासँग यस्तो गर्‍यो भन्ने विषय पनि गम्भीर रुपमा उठेको छ ।

नुवाकोट घर भएकी ती नाबालिकाले सन्दीपले भदौ ५ गते आफूलाई बलात्कार गरेको प्रहरी समक्ष बयान दिएकी छिन् । प्रहरी बृत्त गौशालामा मंगलबार ती बालिकाले जबरजस्ती करणीको उजुरी दिएकी हुन् । उनी १७ वर्षकी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु सामाजिक सञ्जालबाट चिनजान भएका थिए ।

कप्तान लामिछानेमाथि लागेको अभियोग पुष्टि भए बलात्कार गरेको अभियोगमा मात्रै १० वर्षदेखि १२ वर्षसम्म कैद सजाय हुनसक्छ । मुलुकी अपराध संहिताको दफा २१९ को जबरजस्ती करणी गर्न नहुने कसूरको उपदफा (३) (घ) मा पीडित १६ वर्षदेखि माथि १८ वर्षसम्म भए १० देखि १२ वर्षसम्म कैद सजाय हुने भनिएको छ ।

उपदफा २ मा १८ वर्षभन्दा कम उमेरका कुनै बालिकासँग सहमतिमा सम्बन्ध राखे पनि करणी भएको मानिने भनिएको छ । नाबालिका बलात्कारको आरोप लागेका नायक पल शाहलाई मंगलबार मात्रै दुई वर्षको जेल सजाय सुनाइएको थियो । पीडित भनिएकी नाबालिकाले अदालतमा बयान फेरेपछि बलात्कारको कसूरमा उनलाई सफाइ दिइएको थियो । तर बाल यौन दुरुपयोगमा शाहलाई दोषी ठहर गरिएको छ ।