प्रतिष्ठान घटना : उच्चस्तरीय छानविन समिति गठन गर्न माग
वि.सं.२०७९ भदौ २३ बिहीवार १६:४६
shares

काठमाडौं, २३ भदौ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भएको घटना छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरिएको छ ।
प्रतिष्ठान स्थापना पहल समितिका संयोजक तथा सिनेटर नरेश भण्डारीले पछिल्लो समयमा प्रतिष्ठानको भविष्य धमिलो पार्ने गतिविधिले निकै गम्भीर र संवेदनशील बनाएको भन्दै घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न माग गरेका हुन् ।
प्रतिष्ठानमा कार्यरत स्वास्थ्यकर्मीले डा करण साहमाथि भएको हातपातपछि उब्जिएको परिस्थिति भयावह भएको भन्दै बुधबार सामूहिक राजीनामा दिएपछि उनले घटनाको यथाशीघ्र छानविन आवश्यक रहेको बताए ।
कर्णाली प्रदेश सरकारका पूर्व कानुनमन्त्रीसमेत रहेका भण्डारीले पिछडिएको क्षेत्रमा स्वास्थ्य, शिक्षा, सेवा दिने र अनुसन्धान गर्ने उद्देश्यले स्थापित मुलुककै गौरवपूर्ण संस्थाको भविष्यमा प्रतिकूल प्रभाव पार्ने कार्यमा जतिसक्दो छिटो बिराम लगाउन अनुरोध गरेका छन् ।
उहाँले समस्याको अविलम्ब निवारणका लागि एक उच्चस्तरीय छानविन समिति गठन गर्न नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोध गर्दै स्वास्थ्यकर्मी, कर्मचारी तथा सरोकारवालालाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर नियमित काममा फर्कनसमेत अपिल गरेका छन् ।
यही भदौ २ गते प्रतिष्ठानको आकस्मिक कक्षमा मेडिकल अधिकृत साहले छ वर्षीय बालक पृथकविक्रम शाहीलाई उपचार नगरेको भन्दै उनका बुवा धनबहादुर शाहीले हातपात गरेको घटनाले यतिबेला चरम रूप लिएको छ । शाही प्रतिष्ठानमै कार्यरत प्रशासनतर्फका कर्मचारी हुन् । प्रहरीले उनलाई २१ दिनदेखि हिरासतमा राखेर अनुसन्धान भइरहेको जनाएको छ ।















