GBIME

‘दशैंमा पनि मोवाइलको व्यापार छैन, एक महिना पछि केही हुन्छ’

1.65K
shares

काठमाडौं, १३ असोज । सरकारले भर्खरै मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गरेको छ । मोवाइल व्यवसायीहरुले निकै लामो समयदेखि एमडिएमएस लागू गर्न माग गर्दै आएका थिए । एमडिएमएस सिस्टम लागू भएपछि मोवाइल व्यवसायको अवस्था कस्तो छ ? प्रस्तुत छ, यसै सन्भर्दमा मोवाइल वितरक संघका अध्यक्ष दिनेश चुल्यादोसँग केटिएम भ्वाइसकर्मी युकला पौडेलले गरेको कुराकानीको सम्पादित अंशः

निकै लामो प्रतिक्षापछि एमडिएमएस सिस्टम लागू भएको छ, निकै खुसी हुनुहुन्छ होला नि ?

केही वर्ष पहिले नै लागू हुनुपर्ने यो सिस्टम निकै ढिला भएर लागू भएको छ । मोवाइल व्यवसायलाई पारदर्शी बनाउनका लागि यो सिस्टम आवश्यकता थियो । एमडिएमएस लागू भएपछि व्यवसायीमात्रै होइन राज्यलाई पनि फाइदा छ । अवैधानिक माध्यमबाट आउने मोवाइलहरु अब रोकिन्छन् । यसकारण हामी सबै खुसी छौँ ।

एमडिएमएस लागू हुनुभन्दा केही अगाडि र अहिले दशैंको मुखको अवस्थालाई हेर्दा मोवाइल व्यवसाय कस्तो छ ?

अहिले मोबाइल व्यवसाय ठिकठिकै छ । त्यति राम्रो पनि छैन र नराम्रो भन्नाले ठप्प पनि छैन । सामान्य रुपमै चलिरहेको छ । यो भन्दा केही समय अगाडि चै निकै खराब अवस्था थियो । तर, अहिले भने अलि सुधारको बाटोमा गएको छ । अहिले नेपालीहरुको महान चाड दशैँ आईपुगेको छ । त्यसमा अलि आश लागेको छ ।

दशैको बेला चहलपहल धेरै नै हुनुपर्ने हो, कस्तो छ अहिले ?

हरेक वर्ष दशैंमा निकै राम्रो व्यापार हुने गरेको थियो । घटस्थापनादेखि यताको कुरा गर्ने हो भने व्यवसाय केही बढेको पक्कै छ । तर, विगतका वर्षहरुको तुलनामा भने व्यापार छैन ।
अहिले फेरि सरकारले लगाएको ३०० डलरभन्दा माथिका मोबाइल ल्याउन प्रतिबन्धले गर्दा पनि व्यवसायमा असर पारेको छ । अहिले प्राय मानिसहरुले सामान्य मोबाइल किन्न रुचाउदैन् । अनि ठुला र ब्राण्डेड मोबाइलहरु ल्याउन सरकारले प्रतिबन्ध लगाएको छ । यसले गर्दा पनि व्यवसायमा गिरावट आएको हो ।

एमडिएमएस लागू भएपछिको ग्रे मार्केटको अवस्था कस्तो छ ?

मोवाइल व्यवसायलाई सबैभन्दा धेरै असर पारेको भनेको ग्रे मार्केटले नै हो । एमडिएमएस लागू हुनुपूर्व ५० प्रतिशत नै ग्रे मार्केटले व्यवसाय गरेको थियो । अहिले रोकिएको छ । हामीलाई आईफोन ल्याउन ब्याण्ड छ । तर नेपालमा आईफोनहरु जति नी आईरहेको छ । त्यो सबै ग्रे मार्केटबाट नै आएको हो । अनि सामसुङका नयाँ मोडेलका फोनहरु पनि मार्केटमा छ्यापछ्याप्ती पाइन्छन् । तर, हामीलाई इम्र्पोट गर्न ब्याण्ड गरेको छ । त्यसले गर्दा कस्टमरहरु पसलमा नै नआउने अवस्था भईसकेको छ । जेहोस, एमडिएमएस लागू भएपछि अवस्था फरक बनेको छ ।

आईएमईआई दर्ता नभएका फोनहरु पनि अहिले त चलिरहेका छन् होइन ?

अहिले त चलिरहेका छन् । आईएमईआई दर्ता गर्नका लागि एक महिनाका लागि दुरसञ्चार प्राधिकरणले समय दिएको हो । एक महिना पछि दर्ता नभए बन्द हुन्छन् ।

अहिले हरेकका हातहातमा मोवाइल पुगेका छन्, मोवाइल प्रयोगकर्तालाई भन्नु पर्ने केही छ कि !

विशेष गरि म फोन प्रयोगकर्तालाई के भन्न चाहान्छु भने तपाईले बोकेको फोन अवैध रुपले भित्रिएको हो कि ? ठुलो र राम्रोमात्रै हैन कुन बाटोबाट भित्रिएको हो बुझनुहोस् ।
अबैध रुपले भित्रिएको हो ? कतै तपाईको फोन चोरीको फोन त परेन ? त्यसको लागि तपाईले फोन किन्दा अनिवार्य भ्याट विल माग्ने गर्नुपर्छ । त्यसमा मोवाईल फोन एसोसिएसनको स्टिकर हुन्छ त्यो अनिर्वाय रुपमा चेक गर्ने गर्नुस् । यदि तपाइले फोन किनिसक्नुु भएको छ भने तपाईको नजिकको सेवा केन्द्रमा गएर यो फोन चोरीको हो वा होईन जाँच गर्न सक्नु हुन्छ ।