Dhulikhel Eco Banner new

इच्छाकामना मन्दिर पुन : निर्माणको अन्तिम चरणमा

5.88K
shares

काठमाडौं, ३ कात्तिक । चितवनको इच्छाकामना गाउँपालिका–५ मा रहेको इच्छाकामना मन्दिर पुनः निर्माणको काम अन्तिम चरणमा पुगेको छ । ढुङ्गा र माटोले बनेको पुरानो मन्दिर जीर्ण बनेपछि जगबाटै भत्काएर पुनःनिर्माण सुरु गरिएको हो । विसं २०७५ असार ७ गते शिलान्यास गरेर काम सुरु भएको मन्दिरको छाना छाउन बाँकी रहेको इच्छाकामना सिद्धबाबा क्षेत्र संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले बताए । तामाको छाना बनाउनका लागि भक्तपुरमा रहेका कालीगडलाई जिम्मा दिइएको छ ।

यसबाहेक मन्दिरमा रङरोगन, ढुङ्गा बिच्छाउने र पर्खाल लगाउने काम बाँकी छ । बजेट अभावका कारण बाँकी काम निर्माण सम्पन्न गर्न नसकिएको उनले बताए। “गाँउपालिका र प्रदेश सरकारको झण्डै रु दुई करोडको लागतमा मन्दिर निर्माणमा खर्च भइसकेको छ, उनले भने”, “चार÷पाँच लाख चन्दादाताबाट पनि सङ्कलन गरिएको छ ।” मन्दिर निर्माणका लागि स्थानीयले श्रमदानसमेत गरेको उनको भनाइ थियो । यस वर्ष प्रदेश सरकारले रु १० लाख विनियोजन गरेको छ भने गाँउपालिकाले पनि बजेट विनियोजनको आश्वासन दिएको छ ।

पृथ्वी राजमार्गअन्तर्गत फिस्लिङबाट १८ किलोमिटर कच्ची सडक र छ सय मिटर हिँडेपछि इच्छाकामना मन्दिर पुग्न सकिन्छ । मन्दिर निर्माण समितिका उपाध्यक्ष यानबहादुर गुरुङले बर्खाको समयमा गाडी नचल्ने र बोकेर सामान लैजानुपर्दा ढुवानी महँगो पर्ने गरेको बताए । उनले बजेटको सुनिश्चितता भए यस वर्ष मन्दिर निर्माण सम्पन्न हुने जानकारी दिए । कोरोना र आर्थिक समस्याका कारण मन्दिर निर्माणमा ढिलाइ भएको उनको भनाइ छ ।

इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले मन्दिर निर्माणका लागि आवश्यक बजेट पालिकाले विनियोजन गर्ने बताए । उनले मन्दिर नजिकै पाउना घरसमेत निर्माण भइरहेको जानकारी दिए ।