Dhulikhel Eco Banner new

२.२ प्रतिशतले घट्यो विदेशी विनिमय सञ्चिति, नौ महिनाको वस्तु आयात गर्न पुग्ने

5.25K
shares

काठमाडौं, ४ कात्तिक । चालु आर्थिक वर्षको दुई महिनामा विदेशी विनिमय सञ्चितिमा २.२ प्रतिशतले  गिरावट आएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म १२१५ अर्ब ८० करोड बराबरको विदेशी सञ्चिति रहेकोमा भदौ मसान्तसम्म आइपुग्दा ११८९ अर्ब १६ करोड कायम भएको हो ।

यो अवधिमा अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड पुगेको छ । नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा भदौ मसान्तमा ०.५ प्रतिशतले कमी आई १०५१ अर्ब ५३ करोड कायम भएको छ ।

त्यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १५९ अर्ब ४१ करोड रहेकोमा भदौ मसान्तमा १३.७ प्रतिशतले कमी आई १३७ अर्ब ६३ करोड कायम भएको छ ।

यस्तै भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०७९÷८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।