Dhulikhel Eco Banner new

भदौ महिनामा साढे ८ प्रतिशतले मंहगियो नेपालीको भान्छा

6.5K
shares

काठमाडौं, ४ कात्तिक । भदौ महिनामा नेपालीको भान्छा साढे ८ प्रतिशले महंगिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक र वित्तीय स्थितिमा मूल्य वृद्धि ८.६४ प्रतिशले बढेको देखिएको हो ।

यस्तो मूल्य वृद्धि अघिल्लो वर्षको सोही अवधिमा ३.४९ प्रतिशत मात्रै रहेको थियो । केन्द्रीय बैंकले तथ्यांक अनुसार यो अवधिमा खाद्य तथा पेय पदार्थको मूल्य वृद्धि ८.१७ प्रतिशत र सेवा समूहको मूल्य वृद्धि ९.०२ प्रतिशतले बढेको छ ।

२०७८ भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल, घ्यू तथा तेल, रेष्टुरेण्ट तथा होटल, मदिराजन्य पेय पदार्थ र तरकारी, उपसमूहको मूल्यवृद्धि क्रमशः १७.२९ प्रतिशत, १४.५३ प्रतिशत, १२.३० प्रतिशत, १०.२४ प्रतिशत र ९.९४ प्रतिशत रहेको छ । भदौमा खाद्य तथा पेय पदार्थहरु तथा फलफूलमा १७.२९, घ्यु तथा तेलमा १४.५३, रेष्टुरेन्ट तथा होटलमा १२.३०, मदिराजन्य पेय पदार्थमा १०.२४ र तरकारीहरुमा ९.९४ प्रतिशतको मूल्य वृद्धि देखिएको छ ।

राष्ट्र बैंककाअनुसार सबैभन्दा धेरै मूल्य वृद्धि तराईमा देखिएको छ । तराईमा ९.३३ प्रतिशत, पहाडमा ८.८२ प्रतिशत तथा हिमालमा ६.६ प्रतिशत देखिएको हो । काठमाडौं उपत्यकामा भने ७.६२ प्रतिशत मूल्य वृद्धि देखिएको छ ।

गत वर्ष भदौ महिनामा काठमाडौं उपत्यकामा ३.२३, तराईमा ३.६५, पहाडमा ३.९३ र हिमालमा ३.५१ प्रतिशत मूल्य वृद्धि देखिएको थियो । मूल्य वृद्धि भइरहँदा तलब तथा ज्यालादर सूचकांक भने ११.६८ प्रतिशतले बढेको छ । जसमध्ये तलब १२.३९ र ज्यालादर ११.४६ प्रतिशतले बढेको हो ।