मर्जर र लाभांशको प्रस्ताव पारित गर्दै बैंक अफ काठमाण्डु र ग्लोबल आईएमई बैंक
वि.सं.२०७९ कात्तिक २९ मंगलवार ०९:५४
shares

काठमाडौं, २९ कात्तिक । बैंक अफ काठमाण्डू र ग्लोबल आइएमई बैंकले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारणसभा बोलाएका छन् । यी दुबै बैंकले मंसिर २३ गते शुक्रबार साधारणसभा बोलाएका हुन्।
बैंक अफ काठमाण्डूको २८ औँ वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुडिखेल, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १४.९५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, ग्लोबल आइएमई बैंकको १६ औँ वार्षिक साधारण सभा सिल्भर ओक बैंकेट एण्ड इभेन्ट्स सेन्टर,गैरीधारा काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १०.६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डूकाअध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
दुवै बैंक १स्१ को अनुपातमा मर्ज हुन लागेका हुन् । यस अघि दुवै बैंकको संचालक समितिले गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ लाई अनुमोदन गरिसकेका छन् ।
मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने छ भने अध्यक्षमा चन्द्र ढकाल नै रहने छन् । सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने छन् । त्यसैगरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले निरन्तरता पाउने छन्।















