Dhulikhel Eco Banner new

समानुपातिकतर्फ एमालेको अग्रता, कांग्रेस दोस्रो

4.06K
shares

काठमाडौं, १७ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत प्रतिनिधिसभा सदस्यको समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख चार हजार सात सय ६६ मतगणना सम्पन्न भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएअनुसार नेकपा एमालेले २७ लाख ८३ हजार तीन सय ८८ मत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले २६ लाख ५२ हजार छ सय २८ मतसहित दोस्रो स्थानमा रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ११ लाख ६१ हजार आठ सय ८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार दुई सय ५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार नौ सय ४३ र जनमत पार्टीले तीन लाख ९४ हजार तीन सय ८५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ एक सय ६५ क्षेत्रमध्ये एक सय ६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा क्षेत्र नं २, दोलखा र बाजुराको परिणाम आउन बाँकीे छ ।

प्रतिनिधिसभातर्फ पछिल्लो मतपरिणामअनुसार कांग्रेस ५५ स्थानमा विजयी भएको छ भने एमालेले ४४ स्थानमा जित हासिल गर्दै दोस्रो स्थान कायम गरेको छ । यस्तै माओवादी केन्द्र १७, नेकपा एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन् । स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।