Dhulikhel Eco Banner new

ओझेलमा तनहुँको इलुङ झरना

4.23K
shares

काठमाडौं, २३ मंसिर । चारैतिर जङ्गल । खोंचबाट खसेको पानी । चराचुरुचुरुङ्गीको चिरबिर आवाज । स्वच्छ वातावरणमा झर्दै गरेको पानीले जो कसैको पनि मन आनन्दित बनाउँछ ।

भिमाद नगरपालिका–९ पाथर्दी गाउँबाट आधा घण्टाको पैदलयात्रा पछि इलुङ झरना पुगिन्छ । झरना पुगिसकेपछि आधा घण्टाको थकान मेट्न कति पनि समय लाग्दैन । साथै चिसो सरर बग्ने हावाले थकानको महसुस हुन दिँदैन ।

पर्यटकीय गन्तव्य बन्ने प्रचुर सम्भावना बोकेको यो झरना प्रचारप्रसारको अभावमा ओझेलमा छ । “मनमोहक झरनाले प्रशस्त सम्भावना बोकेको छ, तर प्रचारप्रसारका कारण यो ठाउँ ओझेलमा परेको महसुस भएको छ”, स्थानीय शिवकुमार आलेले भने ।

झरनालाई व्यावसायिकरुपमा सञ्चालन गर्न क्यानोनिङको सफल परीक्षण गरिए पनि यसलाई थप अगाडि बढाउन नसकिएको उनि बताउछन। “यहाँ क्यानोनिङ गराउन सक्छौँ कि भनेर परीक्षण गरायौँ, परीक्षण सफल भयो”, आलेले भने, “बजेट अभावका कारण पनि व्यावसायिकरुपमा अगाडि बढाउन समस्या भइरहेको छ ।”

झरनामा क्यानोनिङ सञ्चालनका लागि केही सामग्री खरिद गरे पनि पूर्वाधार अभावका कारण सञ्चालन गर्न नसकिएको आले बताउछन् । “चेञ्जिङ रुम, शौचालयलगायतका संरचना बनाउनुपर्ने आवश्यकता देखिएको छ, तर बजेट नहुँदा काम हुन सकेको छैन”, उनले भने, “स्थानीय, प्रदेश सरकारसँग पनि यस विषयमा कुरा राख्छौँ ।”

हरिनास गाउँपालिका–४ स्थित कटमराम्चेबाट बग्दै आएको सो खोलाको इलुङ झरनाबाट बनेको दहमा प्रत्येक वर्ष मङ्सिरमा झाँक्री पूजा गर्ने गरिएको स्थानीय बताउँछन् । गाउँमा अनिष्ट नहोस्, बालीनाली राम्रो होस् रोगव्याधि नलागोस् भनेर परम्परागतरुपमा गरिँदै आएको उक्त पूजामा भेडा र कुखुराको सामूहिक बलि दिने प्रचलन छ ।

झरनामा पर्यटकलाई आकर्षित गर्न भिमाद नगरपालिकाको सहयोगमा केही पूर्वाधार निर्माण गरिएको छ । नगरपालिकाको रु पाँच लाखको बजेटमा झरनासम्म पुग्ने बाटोमा सिँढी र रेलिङ निर्माण गरिएको निवर्तमान वडाध्यक्ष इमानबहादुर थापाले जानकारी दिए ।

उनका अनुसार झरना जाने बाटोमा अप्ठ्यारो रहेको ठाउँमा सिँढी र रेलिङ निर्माण गरिएको हो । “झरना पुग्ने बेलामा झर्ने बाटो एकदमै अप्ठ्यारो रहेकाले पर्यटकलाई सहज होस् भन्ने उद्देश्यका साथ सिँढी निर्माण गरेका छौँ”, उनले भने । प्रचारप्रसार र बजेट अभावका कारण ओझेलमा परेको यस ठाउँको विकासका लागि सम्बन्धित निकायमा कुरा पु¥याउने उनले बताए ।