Dhulikhel Eco Banner new

ओझेलमा बागलुङको ‘खिउ बराह ताल’

5.66K
shares

काठमाडौं, २७ मंसिर । बागलुङको ताराखोला गाउँपालिका ३ हिलको शिरमा खिउ बराह ताल प्रचारप्रसारको अभावमा ओझेलमा परेको छ ।

करिब तीन हजार एक सय मिटरको उचाइमा रहेको यो तालबाट कैयन हिमाल देख्न सकिन्छ । तर पदमार्ग र मोटरबाटोको पहुँच नहुँदा ताल ओझेलमा परेको हो ।

पर्यटकीय दृष्टिकोणले सम्भावना बोकेको भए पनि पूर्वाधार निर्माण र प्रचारप्रसार नहुँदा पर्यटक पुग्न नसकेका स्थानीय कृष्ण अठारे मगरको भनाइ छ । “तालसम्म पुग्नका लागि सडकको पहुँच वा पदमार्ग निर्माण हुन सकेको छैन”, उनले भने, “तालसम्म पहुँचका लागि पूर्वाधार निर्माण हुने हो भने पर्यटकीय गतिविधि बढ्ने थियो ।”

स्थानीय नीरज बगालेले यतिबेला आफूहरु यतिबेला ताल संरक्षण र प्रचारप्रसारमा जुटेको बताए । उनले स्थानीयहरु ताल छेउछाउ कहिलेकाहीँ वनभोजका लागि जाने गरे पनि बाहिरबाट आउने पर्यटकहरु नभएको बताए ।

गाउँपालिकाले गत आर्थिक वर्षमा ताल संरक्षणका लागि रु चार लाख बजेट विनियोजन गरेको थियो भने यसवर्ष प्रदेश सरकारले सहयोग गरेको उनले जानकारी दिए । “स्थानीय, प्रदेश र सङ्घबाट आवश्यक बजेट विनियोजन गरी ताल संरक्षण र संरचना निर्माणमा लाग्ने हो भने पर्यटकको सङ्ख्या बढाउन सकिन्छ”, उनले भने ।

ताल संरक्षण तथा विकास प्राधिकरण गण्डकी प्रदेशले पनि यसका लागि पहल सुरु गरेको छ । यसवर्ष प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट ताल मर्मत सम्भार गरिने ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यक्रम अधिकृत रणबहादुर विकले जानकारी दिए ।