ज्योति विकास बैंकको भाइरल बन्ने हुटहुटी
वि.सं.२०७९ पुस २२ शुक्रवार १६:५४
shares

काठमाडौं, पुस २२ । यतिबेला सामाजिक सञ्जालमा बाघको मूर्तिलाई लिएर मजाक गर्नेहरूको संख्या बढ्दो छ । सुर्खेतको सहिद पार्कमा निर्माण गरिएको बाघको मूर्तिलाई लिएर सामाजिक सञ्जालमा खिस्सी उडाउने र मूर्तिको स्वरूपलाई लिएर विवादास्पद प्रतिक्रिया आउने काम भइरहेको छ ।
यतीबेला ज्योति विकास बैंकले समेत सोही बाघको मूर्तिको तस्विर आफ्नो सामाजिक सञ्जाल फेसबुकमा मजाकिय शैलीमा प्रस्तुत गरेको छ । जसबाट बैंकमा पनि भाइरल हुने हुटहुटी रहेको प्रस्ट हुन्छ । विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता र ट्रोल गर्ने पेजहरूले जस्तै व्यवहार बैंकले पनि प्रस्तुत गरेको छ ।
यसरी बैंकको अफिसियल अकाउन्टबाटै यस्तो गतिविधि प्रस्तुत हुनुलाई बैंकको अपरिपक्वताको रूपमा हेरिएको छ । एक तर्फ बाघको विवादित मूर्ति र अर्को तर्फ वास्तविक बाघको तस्विर राख्दै बैंकले लेखेको छ ‘स्मार्ट बन्नुहोस्, आफ्नो पासवर्ड, ओटिपि र विवरण कसैलाई पनि नदिनुहोस् ।’
यसरी बैंकले ग्राहकहरूमाझ राम्रो सन्देश दिए पनि विवादित बन्दै गएको तस्बिरको प्रयोग गरेर मूर्ति निर्माण गर्ने कलाकार माथि अन्याय मात्रै गरेन, सञ्जालमा भाइरल बन्ने हुटहुटी समेत प्रस्तुत गरेको छ ।
विभिन्न प्रकारका कार्यक्रमहरू सार्वजनिक गरेर तथा प्रगति विवरणमा आफ्नो सूचकांक बलियो बनाएर उपभोक्ताको आकर्षण तान्न नसकेको बैंकले सामाजिक सञ्जालमा भाइरल बनिरहेको तस्बिरको प्रयोग गरेर मजाक गर्नु अनुचित रहेको एक उपभोक्ता बताउँछन् ।
उनले भने ‘म लामो समय देखी ज्योति विकास बैंक मार्फत कारोबार गर्दै आएको छ । बैंकले आफ्नो विवरण अरूसँग साझा नगर्नुहोला भन्नु उपयुक्त हो र यो आवश्यक पनि छ । तर यसरी मजाक गर्ने शैलीमा बैंक प्रस्तुत हुनु भने अनुचित देखिएको छ । भाइरल हुने हुटहुटी हो कि जस्तो देखिन्छ ।’
सोही विषयमा बैंकका सूचना अधिकारी रामहरि आचार्य भने अनविज्ञ छन् । सन्देश राम्रै दिन खोजे पनि यसरी बैंकले मजाक गर्नु कत्तिको उचित भन्ने प्रश्नमा उनले भने ‘फेसबुक, टुईटरमा बाघको मजाक गरेको देखेको थिए । हाम्रोबाट हालेको विषयमा मलाई जानकारी छैन । सन्देश दिनु राम्रो हो तर कसरी त्यसको प्रयोग गरिएको छ मैले हेरेको छैन । के रहेछ म बुझ्छु ।’
मजाकिय शैलीमा उपभोक्ता माझ छाउन खोजेको उक्त बैंकका सूचकांक हेर्ने हो भने दयनीय अवस्था रहेको पाइन्छ । आकर्षणका निम्ति ग्राहक माझ मजाकीय शैलीमा प्रस्तुत भएको बैंकले आफ्नो आन्तरिक कमजोरीलाई सुधारेर सूचकांकको आधारमा अब्बल बन्दै ग्राहको मन जित्न सकोस् शुभकामना ।



















