महिला लघुवित्तको शेयर कारोबार रोक्का
वि.सं.२०७९ पुस २६ मंगलवार १६:००
shares

काठमाडौं, २६ पुस । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ ।
धितोपत्रको मूल्यमा प्रभाव पार्ने गरी कम्पनीले लाभांशसम्बन्धी निर्णय सार्वजनिक गरेको भन्दै नेप्सेले स्पष्टीकरण माग गर्दै कारोबार रोक्का गरेको हो ।
नेप्सेका अनुसार कम्पनीले पुस २५ गते दिउँसो सञ्चालक समिति बैठकले गरेको लाभांशसम्बन्धी निर्णय नेप्सेलाई पुस २६ गते कारोबार समय अगावै जानकारी गराएको थियो ।
धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाबमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि नेप्सेमा पेश गर्नुपर्ने हुन्छ । कम्पनीले धितोपत्र सूचीकरण विनियमावलीमा भएको व्यवस्थाबमोजिम सूचना उपलब्ध नगराएको भन्दै नेप्सेले कारोबार रोक्का गरेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी रू. १४ करोड ७५ लाखको आधारमा ४७ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
पुस २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ । गत वर्ष पनि कम्पनीले ५० प्रतिशत लाभांश वितरण गरेको थियो ।















