Dhulikhel Eco Banner new

प्रभुसँग मर्जर तोडिएपछि अजोड इन्स्योरेन्सले गर्यो युनाईटेडसंग सम्झौता

4.95K
shares

काठमाडौं, २७ पुस । प्रभु इन्स्योरेन्स लिमिटेडसँगको मर्जर तोडिएपछि अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको छ ।

पुस २६ गते अपराह्न प्रभु इन्स्योरेन्ससँगको मर्जर सम्झौता भंग भएपछि अजोड इन्स्योरेन्सले सोही दिन राति युनाइटेड इन्स्योरेन्ससँग मर्जर सम्झौता गरेको हो ।

प्रभु र अजोड इन्स्यारेन्सबीच गत असार ३२ गते मर्जरसम्बन्धी प्रारम्भिक सम्झौता भएको थियो । मर्जर सम्झौता गरेको करीब ६ महिनामा प्रभु र अजोड इन्स्योरेन्सले सम्झौता भंग गरेका छन् ।

प्रभुसँगको मर्जर सम्झौता भंग भएसँगै अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जरका लागि छलफल भएको थियो ।

बुधवार युनाइटेड इन्स्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । सोही सभामा मर्जरका विषयमा आवश्यक छलफल हुने जानकारी कम्पनीले दिएको छ । यी दुई कम्पनीबीच डीडीएको आधारमा स्वाप रेसियो तय हुने गरी मर्जर सम्झौता भएको बुझिएको छ ।

बीमा क्षेत्रमा पूँजीवृद्धिको अभियान चलिरहँदा कम्पनीहरूले मर्जर प्रक्रियालाई प्राथमिकता दिएका छन् । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम आगामी चैतमा अजोड इन्स्योरेन्सले रू. २ अर्ब ५० करोड चुक्तापूँजी कायम गर्नुपर्नेछ ।

हाल अजोड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब रहेको छ । कम्पनीले यस वर्ष लाभांश प्रस्ताव नगरी पुस ३० गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।

हाल रू. १ अर्ब २ करोड ८१ लाख ६० हजार चुक्तापूँजी रहेको युनाइटेड इन्स्योरेन्सले भने यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ । बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापूँजीमा रू. ५ करोड १४ लाख ८ हजार थप हुनेछ ।