GBIME

कालिञ्चोक दर्शनको आईपीओमा आवेदन दिने आज अन्तिम म्याद, के तपाईले भर्नुभयो ?

1.19K
shares

काठमाडौं, ६ माघ । कालिञ्चोक दर्शन लिमिटेडले निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको १८ प्रतिशतले हुन आउने १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको थियो ।

सोमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ ।

त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइ बाँकी रहेको ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

सो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ४ हजार ९९० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङ्ग अनुसार केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यस्तरको जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै मरो शेयर खाता मार्फत आवेदन दिन सकिनेछ ।