GBIME

निफ्राको नाफा ७३ प्रतिशतले बढ्यो

1.49K
shares

काठमाडौं, ६ माघ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार यस त्रैमाससम्म ७६ करोड ६१ लाख रूपैयाँभन्दा बढी खुद नाफा गरेको छ ।

गत वर्षको दोस्रो त्रैमाससम्मको तुलनामा यस वर्ष कम्पनीले खुद नाफा ७३ प्रतिशत बढेको हो ।
गत वर्ष यस अवधिसम्म कम्पनीले ४४ करोड २६ लाख रूपैयाँभन्दा बढी मात्र खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको सञ्चालन नाफा पनि खुद नाफाकै अनुपातमा बढेको छ ।

गत वर्ष ६३ करोड २३ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको कम्पनीले यस वर्ष १ अर्ब ९ करोड ४५ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको हो । दोस्रो त्रैमाससम्मको वितरणयोग्य नाफा भने ६० करोड ४१ लाख रूपैयाँभन्दा बढी रहेको छ ।

८ प्रतिशत बोनस शेयर मार्फत पूँजी बृद्धि गरी २१ अर्ब ६० करोड पु¥याएको कम्पनीको जगेडा कोष रकम भने यस वर्ष ४१ दशमलव ३० प्रतिशत घटेर १ अर्ब ६६ करोड ९६ लाखमा सीमित भएको छ ।

कम्पनीले गत वर्षको भन्दा ७१ प्रतिशत बढी निक्षेप संकलन गरेको छ भने १४३ दशमलव ६३ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष ३३ करोड ७७ लाख रूपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले यस वर्ष ५७ करोड ७९ लाख रूपैयाँ भन्दा बढी निक्षेप संकलन गरेको हो ।

त्यस्तै गत वर्ष ८ अर्ब १३ करोड ६४ लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको कम्पनीले यस वर्ष १९ अर्ब ८२ करोड ३० लाख रूपैयाँ भन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीले धितोपत्रमा ५ करोड रूपैयाँ लगानी गरेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी ७ रूपैयाँ ९ पैसा र प्रतिशेयर नेटवर्थ १०७ रूपैयाँ ७३ पैसा रहेको छ ।