GBIME

मोलुङ्ग हाइड्रोपावरको आईपीओमा आवेदन दिने म्याद थप

960
shares

काठमाडौं, १० माघ । मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले गत पुस १९ गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने मिति पुनः थप गरेको छ । कम्पनीको आईपीओमा अव स्थानीयले माघ १५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको आईपीओमा यसअघि माघ १० गतेसम्म आवेदन दिन सकिने गरी म्याद थप गरेको थियो । तर, माग बमोजिम आवेदन प्राप्त नभएकोले पाँच दिन थप गरिएको कम्पनीले बताएको छ ।

कम्पनीले आफ्नो जारी पूँजी ८० करोड २५ लाख रुपैयाँको १० प्रतिशतका दरले हुने आउने ८ करोड २ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख २ हजार ५०० कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासनमा ल्याएको छ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरिने शेयरमध्ये पाँच प्रतिशत ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने, बाँकी पाँच प्रतिशत सुनकोशी गाउँपालिकाका बासिन्दा र सिद्धिचरण नगरपालिकाका बासिन्दाहरुमा बाँडफाँट गरिनेछ ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले सनराइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।