GBIME

गैरकानूनी रुपमा होटल याक एण्ड यतिको जिएम बने अष्ट्रियाका नागरिक

4.61K
shares

काठमाडौं, २३ माघ । नेपालमा काम गर्नका लागि श्रम स्वीकृति लिनु पर्ने हुन्छ । श्रम स्वीकृति बिना कुनै काम गर्दा त्यो गैर कानूनी मानिन्छ । तर नेपालको पाँच तारे होलटमध्येको एक याक एण्ड यति होटलको जिएम पदमा गैरकानूनी रुपमा अष्ट्रियाका नागरिकले काम गरिरहेका छन् ।

यस विषयमा ट्रेड यूनियन महासंघले नै गैरकानूनी रुपमा काम गर्ने विदेशी नागरिकलाई कारवाही गर्न निवेदन दिएसँगै यो विषय सार्वजनिक भएको हो । महासंघले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा निवेदन दिएको छ ।

निवेदनमा अष्ट्रियन नागरिक मोनिका पिटर स्काइब्लाउरले बिना श्रम स्वीकृति होटेलमा काम गरिरहेकाले कारबाही गर्न माग गरिएको छ । उनले नेपालमा विजनेश गर्ने भनेर सोही अनुसारको भिसा लिएर अर्को प्रयोजनको काम गरेको पाइएको हो । उनले २०७८ सालको मंसिर महिनामा ब्लु इनर्जी प्रा.लि नामको कम्पनी दर्ता गरेर विजनेश भिसा लिएको देखिएको छ । तर काम भने उनले याक एण्ड यति होटलमा जीएमका रुपमा गर्दै आएकी छिन् ।

एक किसिमको प्रयोजनका लागि आएर अर्को प्रयोजनका लागि काम गरिरहेको अवस्थामा उनलाई कारबाही गर्नु पर्ने महासंघको माग छ । श्रम स्वीकृति बिनै काम लगाउने होटल र अष्ट्रियन नागरिकलाई कारबाही गर्न पनि विभागसमक्ष महासंघले अनुरोध गरेको छ ।

उनलाई उद्योग विभाग अन्तर्गतको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले उनलाई विजनेश भिसाको सिफारिस गरेको छ । विजनेश भिसा लिएर गैर कानूनी रुपमा काम गरिरहेको पाइएपछि हामीले उनलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहिनन् ।