Dhulikhel Eco Banner new

कौसी खेतीबाट थप आम्दानी गरिरहेकी डिलमाया

4.98K
shares

काठमाडौं, २७ माघ । दृढ इच्छाशक्तिसँगै लगनशीलता हुने हो भने तरकारी खेतीका लागि जग्गा नै चाहिन्छ भन्ने छैन । घरको छातमा पनि राम्रो उत्पादन गर्न सकिन्छ भन्ने उदाहरण बनेकी छिन् यहाँकी होटल व्यवसायी डिलमाया कार्की ।

पोखरा महानगरपालिका–१७ आँखा अस्पताल चोकमा होटल व्यवसाय गर्दै आएकी कार्कीले कौसीमा तरकारी खेती गरेर थप आम्दानी गरेकी छिन् । उनी यस क्षेत्रका महिलाका लागि उदाहरणीय बनेकी छिन् । कार्कीको कौसीमा यतिखेर लटरम्म गोलभेडा, ब्रोकाउली, धनियाँ, लसुनको साग, रायोसागलगायत तरकारी फलेका छन् । साथै उहाँ काँक्रो, घिराँैला, करेला, चिचिन्ना, लौका जस्ता लहरे बालिका बिरुवा रोप्ने तयारीमा छिन् ।

“होटलमा आउने पाहुनाका लागि कौसीमा फलेका तरकारी पकाउने गरेको छु”, उनले भनिन् । होटलबाट निस्केको फोहरलाई कम्पोष्ट मल बनाएर कौसीको तरकारी खेतीमा प्रयोग गर्ने गरेको उनको भनाइ थियो । ग्राहक नभएको बेला तरकारीको हेरचाह गर्न कौसी जान्छिन् । कार्कीका अनुसार उत्पादन भएको अर्गानिक तरकारीले परिवारलाई मात्र नभएर व्यवसायलाई समेत पुगेको छ ।

घरको माथिल्लो तल्लाको छतमा तरकारीका क्यारेट, गमला, रङ्गका बट्टामा विभिन्न जातका तरकारीका बोट छन् । कार्की भन्छिन् “भान्छामा तरकारीको आवश्यकता पर्ने बित्तिकै झोला र पैसा लिएर पसलमा होइन चक्कु लिएर घरको भ¥याङ चढ्छु ।”

तरकारीसँगै उनको छतमा खोर पनि छ । खोरमा उन्नत जातका गिरिराज कुखुरा पाल्दै आएकी छिन् । अहिले खोरमा दुईवटा भाले र आठ वटा पोथी छन् । “आवश्यकता अनुसार घरमै उत्पादन भएको कुखुराको मासुले पाहुनालाई स्वागत गर्न पाउँदा रमाइलो लाग्छ, यसबाट आम्दानीसमेत भएको छ”, उनले बताइन् ।

कार्कीले तरकारीबाट निस्केको घाँस तथा होटलमा बचेको खानालाई दानाका रुपमा कुखुरालाई खुवाउने र सुली तरकारीमा प्रयोग गर्छिन् । उनले भनिन्, “भविष्यमा कुखुरासँगै तरकारी खेतीलाई पनि विस्तार गर्ने सोच छ ।” छतमा लहलह तरकारी फस्टाएको देख्दा आनन्द लाग्ने उनको भनाइ छ ।

उच्च हिमाली क्षेत्रमा पाइने पहाडी क्षेत्रका बासिन्दाले बढी प्रयोग गर्ने जिम्बूको बिरुवासमेत उहाँको कौसीमा देख्न पाइन्छ । “एकवर्ष भयो जिम्बू किनेको छैन, आप्mनै उत्पादनले पुगेको छ । बाहिरबाट ल्याएको भन्दा घरमै उत्पादन गरेको जिम्बू ग्राहकको रोजाइमा पर्ने गरेको छ”, उनले भनिन् ।