GBIME

मनकामना स्मार्ट लघुवित्तको नाफा ७८ प्रतिशतले घट्यो

1.1K
shares

काठमाडौं, ५ फागुन । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ७८ प्रतिशत घटेको छ ।

कम्पनीले गत आवको दोस्रो त्रैमाससम्ममा रू. १ करोड ३ लाख नाफा कमाएकोमा चालू आवको सोही अवधिमा घटेर रू. २२ लाख ८२ हजारमा सीमित भएको छ ।

चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यस्थामा धेरै रकम छुट्याउँदा नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले सम्भावित जोखिम बापतको व्यवस्थामा रू. १ करोड ३५ लाख छुट्याएकोमा चालू आवमा रू. ४ करोड ८८ लाख छुट्याएको छ ।

त्यस्तै कम्पनीको खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २५ प्रतिशत घटेको छ । गत आवमा कम्पनीले रू. ३ करोड ९८ लाख खुद ब्याज आम्दानी गरेकोमा चालू आवमा घटेर रू. २ करोड ९८ लाखमा सीमित भएको छ ।

कम्पनीको चुक्तापूँजी रू. १४ करोड १७ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३ करोड ५६ लाख सञ्चिति गरेको छ ।

त्यस्तै कम्पनीले रू. ४६ करोड ८१ लाख सापटी लिएर, रू. ४३ करोड १९ लाख निक्षेप संकलन गरेर रू. १ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ३ दशमलव २२ (वार्षिकीकरण), तरलता अनुपात ५ दशमलव २५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १४७ दशमलव २२ रहेको छ ।