Dhulikhel Eco Banner new

वर्तमान आर्थिक अवस्थाका विषयमा सिबिफिन र आईएमएफवीच छलफल

4.88K
shares

काठमाडौं, ११ फागुन । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट नेपालमा आएको मिसन टोलीका प्रमुख जार्को टुरुनेनको टोलीसँग बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को नेतृत्वले बुधवार भेटवार्ता गरि नेपालको वर्तमान आर्थिक अवस्थाका विषयमा सघन छलफल गरेको छ ।

उक्त भेटघाट तथा छलफलमा आईएमएफ नेपालका आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेज, आईएमएफ– वाशिङ्टन डि.सी, अमेरिकाका वरिष्ठ अर्थशास्त्री रसेल ग्रीन र सिबिफिनकोतर्फबाट उपाध्यक्ष राजेश उपाध्यक्ष, महासचिव राजन सिंह भण्डारी, कार्यकारिणी सदस्य राधेश पन्त तथा सिबिफिनका महानिर्देशक डा. गोपाल प्रसाद तिवारीको सहभागिता रहेको थियो ।

नेपालको भ्रमणमा रहेको उक्त मिसनका प्रमुख जार्को टुरुनेनले नेपालको अर्थतन्त्रको वर्तमान अवस्थाको समीक्षा र कोभिड–पछिको परिदृश्यहरुका विषयमा सरोकारवालाहरूसँग परामर्श गर्न नेपालमा आएको बताए ।

सिबिफिनका प्रतिनिधिहरूले आयात, तरलताको समस्या र त्यसको असर, बैंक तथा वित्तीय संस्थाको मुनाफामा देखिएको संकुचन, पूँजीबजारमा आएको गिरावट, संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा रुपान्तरण गर्न सकिने बाफियाको व्यवस्थाको कार्यान्वयनको अवस्था, निष्क्रिय कर्जामा भइरहेको वृद्धि, ब्याजदर, कर्जायोग्य पुँजीको अभावलगायतका विविध विषयमा आईएमएफका प्रतिनिधिसमक्ष जानकारी प्रस्तुत गरेका थिए ।