Dhulikhel Eco Banner new

‘व्यापार शून्य, कर्जा र ब्याज नतिर्दा पत्रिकामा नाम आउँछ’

9.01K
shares

काठमाडौं, १२ फागुन । पछिल्लो समय निजी क्षेत्र निकै तहसनहस भएको अवस्था छ । अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको निजी क्षेत्र कमजोर बन्दा समग्र अर्थतन्त्रमा नै समस्या देखिएको छ । बढेको ब्याजदरका कारण व्यवसायीहरुले आत्महत्या गरेको समाचारहरु पनि आइरहेका छन् ।

पछिल्लो समय बैंकबाट साना व्यवसायीले ऋण समेत नपाएको गुनासो गरिरहेका छन् । यसैबीचमा महासंघकको चुनाव पनि नजिकै आइरहेको छ । पछिल्लो समय व्यवसायीले भोगेका समस्या र आमागी चुनावमा केन्द्रित भएर उद्योग वाणिज्य संघ दाङका अध्यक्ष टंक सिंह बुढाथोकीसँग केटिएम भ्वाइसकर्मी पुजा माझीले गरेको कुराकानीको सम्पादित अंश ः

पछिल्लो समय दाङका उद्योगी तथा व्यापारीहरुको अवस्था के छ ?

पछिल्लो समय व्यापार व्यवसाय चलायमान हुन सकेको छैन । यो देशभर कै समस्या हो । यो समस्याबाट यहाँका उद्योगी व्यवसायीहरु पनि अछुत्तो रहन सकेका छैनन् । व्यापार गरेर जिविको पार्जन गर्नुपर्ने व्यवसायीहरु अहिले निकै तनावमा रहेका छन् ।

स्थानीय स्तरमा उत्पादन भएका वस्तुहरुले बजार मूल्य नपाउने समस्या रहेको छ । यो अवस्थामा व्यवसायीहरुलाई नाफाको त कुरै नगरौँ आफ्नो लागत समेत उठाउन धौधौ भइरहेको छ । व्यापारीहरु अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन् ।

व्यवसायीहरुलाई राज्यले पनि कुनै सहयोग गरेको अवस्था छैन । राज्यले कर उठाउने बाहेक व्यवसायीका लागि कुनै काम गरेको छैन् । यस्तै भयो भने व्यवसायीहरु पलयान हुने अवस्था देखिन्छ । दाङको मात्रै भनेको होइन देशभर नै अवस्था यस्तै छ । दाङमा पनि व्यवसायीहरुको अवस्था यही छ ।

बैंकको ब्याजदर बढेको छ । ऋण पनि सजिलै पाउन नसक्ने अवस्था छ । यसको असर चै निजी क्षेत्रको व्यवसायमा कस्तो परेको छ ?

अहिलेको अवस्थामा ऋणको विषयमा त कुरै नगर्दा हुन्छ । बैंकको बढेको ब्याजदरले समस्या पारेको अवस्थामा बैंकहरुले हामीजस्ता साना व्यवसायीहरुलाई ऋण प्रवाह नै गर्दैनन् । उनीहरुले ठूला व्यवसायीहरुलाई मात्रै ऋण प्रवाह गरिरहेका छन् । बैंकहरुले साना व्यवसायीहरुको क्षमता नाप्ने काम मात्रै गर्छन ।

समयमा ब्याज र किस्ता नतिरेको खण्डमा ताकेता गर्ने काम गर्छन । सहजता दिने कुरा कतैबाट पनि छैन । यो अवस्थामा व्यवसायीहरु पलायन हुनुको अर्को विकल्प देखिदैन् । केही गरि ऋण दिइहालेको खण्डमा पनि किस्ता किस्तामा दिन्छ । व्यवसायी भागिहाल्छ कि जस्तो गरेर ।
बैंकबाट ७ प्रतिशत ब्याजमा लिएको ऋणको ब्याज बढेर १४ प्रतिशत पुगेको छ । ब्याज दोब्बरले बढेको अवस्था छ । अर्को तिर व्यापार शुन्य छ । व्यापार भएको समयमा त यत्रो ब्याज तिर्न समस्या हुन्थ्यो भने अहिले व्यापार नै नभएको समयमा व्यवसायीको ढाड सेक्ने काम मात्रै भएको छ । व्यापार छैन तर ब्याजदर बढेको छ । तिरेन भने पत्रिकामा नाम आउँछ यो भन्दा पिडाको कुरा के हुन्छ ?

तपाइको विचारमा बैंकको ब्याजदरको विषयमा सरकार वा राष्ट्र बैंकले के गरिदिएको खण्डमा व्यवसायीहरुलाई सहज हुन्छ ?

व्यवसायीहरु समस्यामा रहेको समयमा सरकारले व्यवसायीलाई सजिलो बनाउनु पर्ने हो । तर हाम्रोमा भने ठिक उल्टो भइरहेको छ । राज्यलाई कर तिरे बापत हामीलाई कुनै पनि सुविधा छैन । व्यवसायीहरुलाई निचोर्ने नीति राज्यको छ । यो नीतिमा परिवर्तन ल्याउन जरुरी छ ।
राष्ट्र बैंकले ल्याएका नीति नियमहरुमा समय सापेक्ष रुपमा सुधारको खाँचो छ । यसमा राष्ट्र बैंक पनि तत्परता देखाउनु पर्ने आवश्यकता देखिन्छ ।

अर्को तर्फ राष्ट्र बैंकले नै पहल गरेर सबै व्यवसायीहरुलाई एकै किसिमको व्यवहार गर्नका लागि बैंकहरुलाई निर्देशन दिनु पर्ने हो । तर त्यस्तो भएको देखिदैन । साना र मझौला व्यवसायीहरुलाई दुःख दिने काम मात्रै भइरहेको छ ।

देशको अर्थतन्त्रमा साना तथा मझौला उद्योगीहरुको महत्वपूर्ण भूमिका रहेको कुरालाई राज्यले बिर्सेको जस्तो देखिन्छ । अहिलेको अवस्थामा सरकारसँग हाम्रो माग भनेको बढेको ब्याजदर घटाइदिनु प¥यो भन्ने हो । जसले व्यवसायीहरुलाई निकै राहत मिल्ने थियो ।

बैंकको ब्याजदर बाहेक निजी क्षेत्रका व्यवसायीहरुका अरु समस्या छैनन् ?

समस्या त छन् । अरु समयमा समस्या नै नहुने भन्ने होइन । तर समस्याको प्रकृति हेर्नु पर्ने हुन्छ । व्यवसायमा समस्या नै नहुने अवस्थाको सिर्जना कहिले पनि थिएन र त्यो सम्भव पनि छैन् । अहिले देखिएको समस्या समाधान भएपछि पनि अर्को समस्या आइनै हाल्छ । तर मुख्य कुरा के हो भने त्यो समस्याले पारेको प्रभाव अहिले बढेको ब्याजदरका कारण व्यवसायीहरु आत्महत्या गर्ने अवस्था सिर्जना भएको छ ।

अहिले आत्महत्या गरेको कुरा तपाइहरुकै सञ्चार माध्यमहरुले भनिरहेका छन् । यो अवस्थामा अन्य समस्या गौण बनेका छन् । हामी मौफसलका व्यवसायीले उत्पादन गरेको वस्तुको मूल्य नपाउनु, ढुवानी सेवा महंगो हुने लगायतका समस्याहरु पनि छन् । तर बढेको ब्याजदरका कारण उत्पादन नै गर्न नसकेको अवस्थामा अरु समस्या गौण बनेका छन् । जसले गर्दा व्यवसायीहरु निकै मारमा परेका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको चुनाव नजिकै आइसकेको छ । आगामी नेतृत्व कस्तो आउनु पर्छ ?

हामीले चाहेको भनेको व्यवसायीको भावना बुझ्ने नेतृत्व आउनु पर्छ । सबैलाई समान रुपमा व्यवहार गर्ने नेतृत्वको खाँचो छ । ठूला व्यवसायीका कुरा मात्रै सुन्ने र साना व्यवसायीहरुलाई खाली भोटरको रुपमा प्रयोग गर्ने गरिएको छ । यस्तो काम अब आउने नेतृत्वले नगरोस् भन्ने हो ।
साना व्यवसायीहरुलाई महासंघले समेट्न नसकेको अवस्था छ । यो अवस्थामा सुधार गर्नु पर्ने हुन्छ । तसर्थ मेरो र मोफसलका सबै व्यवसायीको चाहाना के हो भने साना तथा मझौला व्यवसायीहरुलाई पनि महासंघले समेट्न सकोस् । अहिले देखिएका समस्या समाधान गर्न सक्ने नेतृत्व आयो भने हामीहरुलाई सहज हुन्छ ।