Dhulikhel Eco Banner new

पीएनजीमाथि नेपालको शानदार जित

7.1K
shares

काठमाडौँ, २५ फागुन । आइसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम शृङ्खलाको पहिलो एकदिवसीय खेलमा नेपालले पपुवा न्यूगिनी माथि सानदार जित निकालेकाे छ । नेपालले पीएनजी माथी ५२ रनकाे सानदार जित निकालेकाे हाे ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बिहीबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ दशमलव एक ओभरमा सबै बिकेट गुमाउँदै २९७ रनको योगफल खडा गरेको थियो । यो नेपालको हालसम्म कै उच्च स्कोर हो । जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीले ४७ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै २४५ रनमा अलआउट भयो ।

जितसँगै नेपालले ३३ खेलमा ३४ अङ्क जोडेको छ । नेपाल अङ्क तालिकाको पाँचौ स्थानमा छ । समान ३३ खेल खेलको पपुवा न्यूगिनी ९ अङ्कका साथ अङ्क तालिकाको अन्तिम स्थानमा छ । नेपालका लागि ओपन आशिफ शेख र कुशल भुर्तेलले पहिलो विकेटका लागि ११० रनको साझेदारी गरे । खेलमा आशिफ शेखले सर्वाधिक ११० रन बनाए । कुल ११० बल खेलेका उनले दुई छक्का र १२ चौका प्रहार गरे ।

आशिफको यो पहिलो एक दिवसीय शतक हो । उनी एक दिवसीयमा खेलमा शतक प्रहार गर्ने नेपालका लागि पाँचौ खेलाडी बने । यसअघि राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले शतक प्रहार गरिसकेका छन् ।

शतकसँगै आशिफले एक दिवसीय खेलमा एक हजार रनसमेत पूरा गरेका छन् । एक हजार रन पूरा गर्ने उनी नेपालका उनी दोस्रो खेलाडी बने । यसअअघि नेपालका रोहित पौडेलले एक दिवसीयमा एक हजार रन पूरा गरेका थिए ।

साथै नेपालका लागि ब्याटर कुशल भुर्तेलले ४५ रन, भिम सार्कीले ४४ रन, रोहित पौडेलले ३० रन बनाए । साथै आरिफ शेखले १५ रन, ज्ञानेन्द्र मल्लले ११ रन र दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछोनले सात र सोमपाल कामीले चार र कुशल मल्लले दुई रन बनाए । बलिङतर्फ पपुवा न्यूगिनीका सेमो कमिया पाँच विकेट लिए भने राइली हेकुरेले तीन विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको पपुवा न्यूगिनीको सुरुवात राम्रो रह्यो । पहिलो विकेट ११ दशमलव दुई ओभरमा ७७ रनमा झरेको थियो । पपुवा न्यूगिनीका लागि नोर्मान भानुवाले सर्वाधिक ६० रन बनाए भने ओपनर टोनी उराले ५० रन बनाए । साथै असाद भालाले ४२, रिले हेकुरेले २० रनको योगदान गरे । नेपालको जितमा सन्दीप लामिछानेले चार विकेट लिए भने दीपेन्द्रसिंह ऐरीले दुई र कुशल मल्लले एक विकेट लिए ।

विभिन्न सात राष्ट्र सहभागी यस सिरिजमा नेपालले अब तीन खेल खेल्न बाँकी छ । पपुवा न्यूगिनीसँगको एक र युएईसँगको दुई खेलमा विजयी भए नेपालले शीर्ष तीनमा रहँदै विश्वकप छनोट खेल्न पाउनेछ ।